खोटाङ, १२ असोज
जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । सो अभियान अन्तर्गत कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्किन निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको हो ।
दसैँका अवसरमा यही असोज १६ देखि १९ गतेसम्म तथा तिहारका अवसरमा आगामी कात्तिक ५ देखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभयो । “गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । त्यतिबेला ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उहाँले भन्नुभयो, “यसवर्ष अभियानको दोस्रो संस्करण हो । यसमा हाम्रो कुनै स्वार्थ छैन । नितान्त मानवीय सेवाभावले गर्न लागिएको हो ।”
यस वर्षका लागि अभियानमा हालसम्म २५ युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी नाम दर्ता गराइसकेको जनाइएको छ । मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले जनाएको छ ।
अभियानअन्तर्गत सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ । स्वयंसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र हुनुपर्ने छ ।








प्रतिक्रिया