कर्णाली

उज्यालोको खोजीमा दृष्टिविहीन राना दम्पती



कञ्चनपुर, २२ असोज

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन् । दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन् । जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन् । विसं २०५२ मा गाउँकै बासिन्दाकै पहलमा विवाह बन्धनमा बाधिनुभएको हो । दृष्टिविहीन भएकाले दुवैको सहारा उहाँका छिमेकी रहेका छन् । अहिले पनि रामा सुदामा दम्पती छिमेकीकै सहयोगमा सानो घरमा बसोबास गर्दै आएका छन् । त्यो घर पनि गाउँका बासिन्दाले बनाइदिएका हुन् । “आमाबुबाले जग्गा राख्नुभएन, अहिले बस्नको लागि छ–सात धुर जग्गा मात्रै छ त्यसमै असल छिमेकीले घर बनाई दिँदा बस्न पाएका छौँ”, रामाले भन्नुभयो ।

दुवै जनाले अपाङ्गका आधारमा नीलो कार्ड पाएका छन् र वडा कार्यालयबाट नियमित रूपमा भत्ता पाउँछन ्। यही भत्ताको रकम नै दृष्टिविहीन दम्पतीको मुख्य आम्दानीको स्रोत हो । “त्यही पैसाले नुन, तेल, चामल, दाल, साबुन र औषधोपचारका लागि खर्च गर्छौं”, सुदामा बताउनुहुन्छ ।

छिमेकीहरूले दुवै जनाका लागि खाना पकाउनेदेखि घर सफा गर्नेलगायत दैनिक कार्यमा सहयोग गर्छन् । सुदामा अनुमान र अन्दाजका भरमा कपडा धुन्छिन् र स–साना घरायसी काम आफैँ गर्न प्रयास गर्छिन् । “सहारा कोही छैन, जो आउँछन् ती नै हेर्छन्”, रानाले भन्नुभयो । दुवै जनाको सन्तान भने छैनन् ।

रामाले झारफुकको काम पनि गर्छन् । उहाँका अनुसार बाल्यकालदेखि नै यो सीप सिक्नुभएको हो । “झारफुक गराउँदा ठीक भएका मानिसहरूले खुसी भएर केही पैसा दिनुहुन्छ, कहिलेकाहीँ घरमै बोलाएर पनि आउनुहुन्छ”, उहाँले भन्नुभयो । यही सानो आम्दानीले पनि घरखर्चमा केही राहत पुग्ने गरेको उहाँ बताउनु हुन्छ ।

“आँखा देखिँदैन तर मनको उज्यालो कहिल्यै निभ्दैन”, सुदामा मुस्कुराउँदै भन्नुहुन्छ । रामा र सुदामाको जीवन जिउने सकारात्मक सोचले जीवनलाई दृढ बनाएको स्थानीय नवराज पन्तले बताउनुभयो । “दृष्टिविहीन राना दम्पती अत्यन्तै सरल र सकारात्मक सोच भएका व्यक्ति हुन”, उहाँले भन्नुभयो, “कठिनाइका बीच पनि दुवै जना कहिल्यै गुनासो गर्दैनन्, बरु उनीहरूको आत्मबलले गाउँका अरूलाई पनि जीवनप्रतिको दृष्टिकोण सिकाएको छ ।”

गाउँका बासिन्दा राना दम्पतीलाई साँचो माया र सहानुभूतिको उदाहरणीय जोडी रुपमा बर्णन गर्छन । जीवनमा दृष्टि नभए पनि उनीहरूले एकअर्कामा उज्यालो पाएका छन् । अँध्यारो संसारमा पनि आत्मबल, माया र सहानुभूतिको उज्यालोले कसरी जीवनलाई अघि बढाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् रामा र सुदामा राना ।

प्रकाशित : २२ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६