अर्थ-वाणिज्य

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री



जुम्ला, २७ असोज

जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।

 अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ । आगामी मङ्सिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बिक्रिका लागि बाहिर पठाइएको तथ्याङ्क यकिन हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । 

गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिmक्रीका लागि पठाइएको छ । पछिल्लो समय स्याउखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।”

 यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ घरधुरीमध्ये १९ हजार २५८ घरधुरी अर्थात् ७० दशमलव पाँच प्रतिशत घरपरिवार स्याउखेतीमा संलग्न छन् । तिला गाउँपालिकाभित्रका स्याउ किसानले गत भदौ पहिलो साता स्याउ  बिक्री गरेको स्थानीय स्याउ व्यापारी पदम रावतले बताउनुभयो । यहाँका अधिकांश किसानको स्याउ बगैँचा छ । प्रत्येक परिवारले एक सिजनमा कम्तीमा  ४५ हजारदेखि बढीमा एक लाख रुपैयाँसम्म स्याउ बिक्री गरी आम्दानी गर्ने गरेका छन् । किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँ बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिनुभयो । 

१३ हजार मेट्रिकटन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यसवर्ष जुम्लामा १३ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । यो उत्पादन विगत दुई वर्षयताकै कम हो । 

जम्मा उत्पादित मध्ये ७० हजार मेट्रिकटन स्याउ बिक्री भइसकेको छ । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । त्यसमध्ये स्याउ खेती गरिएको क्षेत्रफल आव २०८१÷८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेकामा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको जनाइएको छ ।

जिल्लामा हाल उत्पादित स्याउका जातहरुमा रेडडेलिसियस, रोयलडेसियस, गोल्डेन डेलिसियस, रिचारेड र जनाधन छन् । हाल उत्पादित उन्नत जातहरुमध्ये फुजी गाला (इटालियन जात) को स्याउखेती भइरहेको छ ।

 हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका जातहरुमध्ये स्टार किमसन डेलिसियस, बाइट एन अर्ली र स्टार्क स्पर गोल्डन जातको स्याउखेतीको अध्ययन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । 

प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६