कपिलवस्तु, कात्तिक ११ ।
छठ पर्वको पावन अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले धार्मिक परम्परा अनुसार सूर्यदेवलाई अर्घा अर्पण गर्दै पूजा अर्चना गर्नुभएको छ। नगर प्रमुख पौडेलले मंगलबार साँझ अस्ताउँदो सूर्य र बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घा चढाउँदै नगरवासीको सुख, समृद्धि र शान्तिको कामना गर्नुभयो।
धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा मनाइने छठ पर्वका अवसरमा नगर प्रमुख पौडेलले नगरका विभिन्न घाट र तालहरूमा पुगेर श्रद्धालु भक्तजनलाई शुभकामना दिनुभएको थियो। उहाँले भन्नुभयो, “छठ पर्वले आत्मानुशासन, शुद्धता र आस्थाको सन्देश दिन्छ। यसले समाजमा एकता र भाइचारा सुदृढ गर्न सहयोग पुर्याउँछ।”
नगर प्रमुख पौडेलले नगरपालिकाले छठ पर्वका लागि घाटहरूको सरसफाइ, प्रकाश व्यवस्था र सुरक्षाका विशेष व्यवस्था मिलाएको जानकारी दिनुभयो। उहाँले छठ व्रतालुहरूको धार्मिक आस्थाप्रति सम्मान व्यक्त गर्दै, “धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण हाम्रो सामूहिक दायित्व हो,” भन्दै नगरपालिकाले हरेक पर्वलाई सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनुभयो। छठ पर्व नेपाली समाजमा विशेष धार्मिक र सांस्कृतिक महत्व बोकेको पर्व हो। सूर्य उपासना, पवित्रता, आत्मसंयम र कृतज्ञताको प्रतीक यो पर्व चार दिनसम्म मनाइन्छ।








प्रतिक्रिया