बागलुङ, १२ असोज
बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिनुभएको छ । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी हुनुभएको हो । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि आइतबार बिहान उहाँलाई डाकोमा बेकेर स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिनुभएको महिला स्वास्थ्य स्वयंसेविका तारा थापाले जानकारी दिनुभयो । मोबाइलमा नेटवर्क र इन्टरनेट नचलेपछि शनिबार राति करिब २ः०० महिला स्वास्थ्य स्वयंसेविका थापालाई परिवारले घरमै पुगेर बोलाए पनि बाटोका कारण आफू त्यहाँ पुग्न नसकेको उहाँले बताउनुभयो । आइतबार बिहानसम्म परिवारले सरितालाई डोकोमा बोकेर सिसाखानी स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै सुत्केरी हुनुभएको स्वयंसेविका थापाले जानकारी दिनुभयो । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको भन्दै आमा र नवजात शिशुलाई सुरक्षित रूपमा घरमा लगिएको उहाँको भनाइ छ ।









प्रतिक्रिया