वाणगंगा, ६ पौष
राजापानी सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटन प्रवद्र्धनलाई केन्द्रमा राख्दै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संरचना थप गरेको छ। तत्कालीन श्री ५ को सरकारद्वारा २०५८ साल पौष ६ गते राष्ट्रिय वन स्थानीय उपभोक्तालाई संरक्षण, संवद्र्धन तथा उपभोगका लागि हस्तान्तरण गरिएको राजापानी सामुदायिक वनले आज २४ वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो।

२४औँ वार्षिकोत्सवको अवसरमा समूहको पर्यापर्यटन क्षेत्रमा अवस्थित ऐतिहासिक मूल राजापानी किनारामा निर्माण गरिएको राजा शुद्धोधनको मूर्ति वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्थालले अनावरण गर्नुभएको छ। मूर्तिको अनावरणसँगै राजापानी क्षेत्रलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना थप बलियो बनेको छ।
कार्यक्रममा राजापानी सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष परशुराम ज्ञवाली, पूर्व अध्यक्षहरू भोजराज आचार्य, गोविन्द प्रसाद पौडेल र धर्मराज शर्मा, निवर्तमान अध्यक्ष ढाकाराम अधिकारी, सब–डिभिजन वन कार्यालय पटना प्रमुख बाबुराम पोखरेल, वाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कुमार सुनार, समूहका सल्लाहकार संयोजक विष्णु न्यौपाने लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले सामुदायिक वन संरक्षणसँगै पर्यापर्यटनलाई जोड्न सके स्थानीय रोजगारी सिर्जना, आयआर्जन तथा क्षेत्रीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे। प्राकृतिक सौन्दर्य, ऐतिहासिक पहिचान र धार्मिक आस्थालाई समेटेर दीगो पर्यटन विकास गर्नुपर्नेमा उनीहरूको जोड थियो।
राजा शुद्धोधनको मूर्तिस्थापनासँगै राजापानी सामुदायिक वन क्षेत्रलाई लुम्बिनी क्षेत्रसँग जोडिने सम्भावित पर्यटकीय मोडलका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।








प्रतिक्रिया