ब्रेकिंग न्युज

अटिजम भएका बालबालिकाका लागि एउटा कक्षामा पलाएको आशा



गण्डकी, ५ चैत

कास्की पोखरा–१७ को महतगौडास्थित जानकी माध्यमिक विद्यालयले सञ्चालन गरेको छुट्टै भवनमा एउटा कक्षा सामान्य जस्तै देखिए पनि भित्र पस्दा बेग्लै अनुभूति हुन्छ । भित्तामा टाँसिएका रङ्गीन चित्र, खेलौनाजस्ता सिकाइ सामग्री एवं सहजकर्ता र आयाको धैर्यपूर्ण मुस्कानले यो कक्षालाई विशेष बनाएको छ । यहाँ अटिजम भएका बालबालिकाका लागि आफ्नै गति र तरिकाले सिक्ने थलो बनेको छ । अटिजम भएका बालबालिकाका लागि विद्यालय जानु पहिले सजिलो थिएन । बोल्न नसक्ने, आँखामा आँखा जुधाउन गाह्रो मान्ने वा एउटै व्यवहार दोहो¥याइरहने बालबालिकालाई समाजमा घुलमिल हुन गाह्रो हुने अवस्था अझै पनि छ । विद्यालय त झन् अलिक परको विषय थियो । तर पोखरा महानगरपालिकाले जानकी माध्यामिक विद्यालयमा सुरु गरेको अटिजम कक्षाले बालबालिकाका ती उनीहरुका लागि सहज वातावरण बनाउँदै लागेको छ । यो कक्षामा पढाइ किताबमा मात्र सीमित छैन । चित्र, खेल, सङ्गीत र दैनिक जीवनसँग जोडिएका गतिविधिमार्फत बालबालिकालाई सिकाइन्छ । शिक्षकले एकैपाठ सबैलाई एउटै तरिकाले पढाउँदैनन् कसैलाई खेलाउँदै, कसैलाई चित्र देखाउँदै त कसैलाई हात समातेर बुझाइन्छ । यही फरक तरिकाले बालबालिकामा आत्मविश्वास बढ्न थालेको अभिभावक प्रविण अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मेरो आठ वर्षीय छोरा प्रज्ज्वल अधिकारी पहिला विद्यालय जानै मान्दैनथ्यो । अहिले बिहानै ब्याग बोकेर निस्किन्छ । बोल्न त अझै गाह्रो हुन्छ, तर उसले बुझ्न थालेको सङ्केत गर्ने गरेको छ । हामीलाई यही ठूलो उपलब्धि लाग्छ ।” कतिपय अभिभावक बिहान आप्mना बाबुनानी लिएर आउने र बेलुका सँगै लिएर फर्कनेसमेत गर्दै आउनुभएको छ । पोखरा महागनपालिकाले अटिजम कक्षा सञ्चालन गरेर सबैका लागि शिक्षा भन्ने अभियानलाई साकार बनाउन एउटा हृदयस्पर्षी कार्य गरेको उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “अहिले अटिजम कक्षामा ४० जना बालबालिका भर्ना भएका छन् । एक जना अटिजम भएको बच्चाका लागि एक जना हेरालो नै बस्नुपर्ने बाध्यता भएको वर्तमान अवस्थामा जानकी माविमा कक्षा सञ्चालन भएसँगै अभिभावक र बालबालिकाले राहतको अनुभूति गर्न थालेका छन् ।” अभिभावक सरु अधिकारीका अनुसार छोरा सास्वतको अवस्थामा परिवर्तनका सङ्केतहरु देखिन थालेका छन् । बिहान विद्यालय जाने र दिउँसो घर फर्कने समयमा देखाएको सङ्केतले छोरामा परिवर्तनको आशा पलाउन थालेको उहाँको भनाइ छ । विद्यालयले यातायातको व्यवस्था गर्न नसक्दा अभिभावकलाई छोराछोरी विद्यालय ल्याउन र लैजानसमेत असहज बनेको दुखेसो सुनाउनुभयो । उहाँका अनुसार त्यसतर्पm पनि महानगरले सोच्नुपर्ने अवस्था सृजना भएको छ । अटिजम विद्यार्थीलाई यातायात सुविधा पु¥याउनका लागि विद्यालयले भारतीय राजदूतावासमा बस व्यवस्थापनका लागि प्रस्तावसमेत पेस गरेको छ । “कक्षामा हरेक मुस्कान, हरेक सङ्केत ठूलो सफलता हो”, विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले भन्नुभयो, “अटिजम भएका विद्यार्थीले आज आँखामा आँखा जुधायो भने विस्तारै भोलिका दिनमा बोल्ने आशा पलाउन थालेको छ ।” उहाँका अनुसार विद्यालयले अटिजम भएका ४० जना बालबालिकाका लागि भर्ना आह्वान गरेकामा पोखरा महानगरपालिकाका मात्र ११३ जनाको आवेदन परेको थियो । अटिजम भएका बालबालिकालाई सिकाइसँगै हेरचाह गर्न सजिलो छैन तर पनि सबैको साथ र सहयोगले यहाँ भर्ना भएका विद्यार्थीमा विस्तारै परिवर्तनका सङ्केतहरु देखिने विश्वास लिइएको छ । अटिजम भएका बालबालिकाका लागि एक जना थेरापिष्टकोसमेत व्यवस्था भई सकेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको रु ५० लाख लागतमा निर्माण गरिएको चारकोठे पक्की भवनमा कक्षा सुरु गरिएको बताउँदै उहाँले पोखरा महानगर शिक्षा महाशाखाले कार्यविधि बनाएर सञ्चालन गरिएको अटिजमसहित विद्यालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन् । जसमा महानगरपालिकाले एक जना शिक्षक, चार जना सहजकर्ता र चार जना आयाको व्यवस्था गरेको छ । एक जना थेरापिष्टका लागि विद्यालयले निवेदन आह्वान गरे पनि निर्वाचन आचारसंहितका कारण अघि बढ्न नसकेको उहाँको भनाइ छ । थेरापिष्टको खर्च महानगर स्वास्थ्य महाशाखाबाट सात लाख रुपैयाँ बजेट विनियोजन भएको छ । पोखरा महानगरपालिकाको समावेशी शिक्षा नीतिअन्तर्गत जानकी माविमा अटिजम कक्षा सञ्चालन गर्नु महानगरका लागि एउटा महत्वपूर्ण कदम हो । विद्यालय शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्न यो कक्षा सुरु गरिएको महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य बताउनुहुन्छ । उहाँका अनुसार अटिजम कक्षाले केबल बालबालिकालाई मात्र होइन, अभिभावकलाई पनि आशा जगाउँदै वर्षौंदेखि चिन्ता र पीडामा बाँचिरहेका यस्ता परिवारले अब भविष्य देख्ने विश्वास र आशा लिएका छन् । समाजले अझै अटिजमलाई रोग होइन, फरक अवस्था भनेर बुझ्न आवश्यक छ । जानकी माविमा सञ्चालन भएको यो कक्षा एउटा सानो सुरुआत हो । तर यही सानो कक्षाले धेरै बालबालिकाका लागि आत्मविश्वास, सिकाइ र सम्मानसहितको जीवनतर्फ जाने ढोका खोल्ने विश्वासका लिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा महानगरपालिकाले मानवीय संवेदनशीलतालाई विशेष मध्यनजर गर्दै गत भदौ २२ गतेदेखि अटिजम कक्षा सञ्चालनमा ल्याएको हो । गण्डकी प्रदेशमै स्थानीय तहले सञ्चालन गरेको पहिलो अटिजम कक्षा सञ्चालनका लागि हालसम्म विभिन्न शीर्षकमा महानगर शिक्षा महाशाखा, सामाजिक विकास महाशाखा, वडास्तरीय र गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको ८४ लाखभन्दा बढी रकम विनियोजन भइसकेको छ । व्यक्तिको मस्तिष्कमा स्नायु कोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चार सीप र कल्पना शक्तिको विकासमा असर देखिनु अटिजम भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल बालरोग विभाग प्रमुख डा रामचन्द्र बास्तोलाले बताउनुभयो । उहाँका अनुसार जसले गर्दा बाल्यावस्थामा नै सञ्चारमा विचलन, सामाजिक रुपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियको उतारचढावको फलस्वरुप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । अटिजम कुनै रोग र बौद्धिक अपाडगता होइन मष्तिस्कको एक विशेष अवस्थामात्रै हो जुन असामान्य र अस्वीकृत व्यवहारका रुपमा देखिन्छ । “वंशानुगत, गर्भावस्थामा विद्युतीय प्रविधि एवं औषधिको अत्यधिक प्रयोग र मौलिक खानाको सट्टा पत्रुखाना बढी रुचाउने, असन्तुलित वातावरण तथा अत्यधिक विषादीको प्रयोगका कारण बालबालिकामा अटिजमको मुख्य कारण हुन सक्दछ”, बास्तोलाले भन्नुभयो, “अटिजम बच्चा जन्मेको १८ महिनादेखि दुई वर्षको उमेरमा सङ्केत देखिने पाइएको छ । बालबालिकाको रुचिका आधारमा सिकाइ र प्रयोगात्मक विधि अप्नाउदै नियन्त्रणमा जोड हुनु आजको आवश्यक हो ।” विश्व स्वास्थ्य सङ्गठन(डब्यलुएचओ)को तथ्याङ्कअनुसार एकसयमा एक जना भए पनि अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सिडिसी) को सन् २०२३ र २०२४ को रिपोर्टअनुसार ३६ जनामा एक जना बालबालिकामा अटिजमको समस्या देखिएको तथ्याङ्क रहेको छ । नेपालमा अहिलेसम्म अटिजमको यकीन तथ्याङ्क नभए पनि उक्त तथ्याङ्कलाई हेर्ने हो भने हजारौँ बालबालिकामा सो समस्या भएको अनुमान गर्न सकिन्छ । विसं २०७८ को जनगणनामा ८४८४ जनामा अटिजम रहेको उल्लेख छ । तथ्याङ्कमा नसमेटिएको सङ्ख्या ठूलै भएको अनुमान गरिएको छ । अहिलेसम्म काठमाडाँै, पोखरा, भरतपुर, विराटनगर, रुपन्देहीलगायतका विभिन्न पालिकाले फिजियोथेरापी, स्वीचथेरापी र मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । पोखरा महानगरपालिकाद्वारा सञ्चालित जानकी स्रोत कक्षालाई पनि विस्तारै व्यवस्थित गरिने तयारीमा जुटेको छ । मुलुकका कतिपय सहरमा निजीस्तरमा अटिजम कक्षा सञ्चालन हुँदै आएका छन् । –––

Powered By  Orson Infotech

प्रकाशित : ५ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६