अमेरिका, ६ जेठ
अमेरिकाको कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा यही मे २२ देखि २४ तारिखसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहने जनाइएको छ । साथै, कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको पनि सम्मेलनमा उपस्थिति रहने अनेसासले जनाएको छ । अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सम्मेलनमा ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । मे २२ मा सम्मेलनका सहभागीहरूलाई स्वागत तथा विशेष रात्रिभोज आयोजना गरिनेछ भने सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ । सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतबीच विशेष बहस कार्यक्रम सञ्चालन हुनेछ । उक्त सत्रको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्नुहुनेछ । मे २३ र २४ मा सञ्चालन हुने विभिन्न सत्रहरूमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरूबीच साहित्यका विविध विधामा बहस, छलफल तथा अन्तरक्रिया आयोजना गरिनेछ । सम्मेलनका दुई दिन बिहान योग अभ्यास तथा साँझ काव्य उत्सवसमेत आयोजना गर्ने गरि कार्यक्रम तय गरिएको छ । सम्मेलनको अन्तिम दिन विभिन्न सहयोगी व्यक्ति तथा सङ्घ संस्थाहरूलाई सम्मान गरिने नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनका मिडिया संयोजक दीर्घराज उपाध्यायले बताउनुभयो । सम्मेलनका अवसरमा विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक झाँकी, लोकसंस्कृति तथा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् । संयोजक उपाध्यायका अनुसार सम्मेलनको अन्तिम दिन सहभागी अतिथिहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ । प्रवासी भूमिमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाली साहित्यिक जगत्को महत्वपूर्ण साझा मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।









प्रतिक्रिया