कोशी

पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’



झापा, ९ जेठः

भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भद्रपुर नगरपालिका–७ स्थित मेचीपारिको नेपाली भू–भागमा अवस्थित यो पार्क भारतका पश्चिम बङ्गाल र विहार प्रान्तबाट नेपाल भित्रिने मुख्य नाकामै निर्माण गरिएको हो । पार्कमा नेपाल अङ्कित अक्षरको कलात्मक आकृति, भगवान गौतम बुद्धको सुनौलो प्रतिमा, मनमोहक फोटो पोइन्ट, आरामदायी फलैँचा, फरफराउँदो नेपालको राष्ट्रिय झण्डा र मुलुकका प्रमुख पर्यटकीयस्थल समेटिएको होर्डिङ बोर्ड राखिएको सामाजिक अभियन्ता रोयल सञ्जयले जानकारी दिनुभयो । यहाँको मेची नदीमा निर्मित पक्की पुलको शतप्रतिशत भाग नेपाली भूमिमा पर्दछ भने पुलपारिको सडक र खेत पनि नेपाली भू–भाग नै हुन् । मेचीपारिको यही विशेष भूगोलमा बनेका कारण यस पार्कले नाकाबाट आवतजावत गर्ने दुवै देशका नागरिकका साथै तेस्रो मुलुकका पर्यटकको ध्यान खिच्ने गरेको छ । गत वैशाख १ गते विधिवत उद्घाटन गरिएको यस पार्कमा राखिएको होर्डिङ बोर्डमा सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, फेवाताल, कचनकबल, किचकबध र बडिमालिकाजस्ता देशका प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिर सजाइएको छ । पार्कमा कङ्क्रिटबाट आकर्षक ‘नेपाल’ आकृति बनाइएको छ, जहाँ पुगेर आगन्तुक फोटो भिडियो खिचाउँदै रमाउने गर्छन् । पार्क नजिकै नाकाको सुरक्षा र व्यवस्थापनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका प्रतिनिधि परिचालित छन् । पार्क निर्माणको परिकल्पना र नेतृत्व गर्नुभएका अभियन्ता सञ्जयका अनुसार स्थानीय दाताको स्वेच्छिक सहयोगमा करिब रु दुई लाख ५० हजारको लागतमा यो संरचना तयार भएको हो । यसका लागि उहाँ आफैँले श्रमदान गर्नुभएको थियो । “मेची पुलपारिको भू–भाग पनि नेपालकै हो भन्ने सन्देश दिन र नाकाको प्रवेशविन्दुलाई सुन्दर बनाउन यो पार्क सफल भएको छ,” सञ्जय भन्नुहुन्छ । विर्तामोड नगरपालिका–४ का अजय साहले नेपाल पार्कमा फोटो खिच्न पाउँदा खुसी व्यक्त गर्दै यसले मेचीपारिको नेपाली भू–भागमा राष्ट्रिय पहिचान स्थापित गरेको बताउनुभयो । “यो पार्कले नेपाल प्रवेश गर्ने जो कोहीको मन लोभ्याउँछ,” उहाँ थप्नुहुन्छ, “राष्ट्रप्रतिको गौरवबोध र सकारात्मक भावना जगाउन यस्ता संरचनाले ठूलो योगदान पुर्याउँछन् ।” पार्कको विशिष्ट भौगोलिक अवस्थिति र प्राकृतिक सौन्दर्यका कारण यहाँ ‘पाँच पाण्डव’लगायत ठूलो पर्दाका विभिन्न चलचित्रको छायाङ्कन भइसकेको छ ।

प्रकाशित : ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६