कर्णाली

कर्णाली प्रदेशसभाः विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु



कर्णाली, १२ असार

कर्णाली प्रदेशसभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बिहीबार बसेको १४औँ बैठकमा सभामुख नन्दा गुरुङले असार ११ गतेदेखि १४ गतेसम्म विषयगत मन्त्रालयको शीर्षकहरूमाथि छलफल सुरु भएको जानकारी दिनुभयो । कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत विनियोजन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले वडा तथा पालिका योजना प्राथमिकतामा नपरेको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य इन्दिरा शाहीले वैज्ञानिक भूउपयोग नीतिलाई कार्यान्वयनमा लैजानुपर्ने विषयलाई सरकारलाई सुझाउँदै परम्परागत, निर्वाहमुखी अवस्थाबाट कृषिलाई आजको आवश्यक प्रविधिसँग जोडेर अगाडि बढ्न आग्रह गर्नुभयो । बजेट विनियोजन भए पनि कार्यान्वयनको अभावले आवश्यक पूर्वाधारका संररचना बन्न नसकेको उहाँको भनाइ थियो । प्र्रदेशसभा सदस्य रनसिंह परियारले बजेटले पशुपालन, दुग्ध विकास, उत्पादन र उत्पादकत्व बढाउने सकरात्मक कार्यक्रम ल्याएको बताउनुभयो । यद्यपि, विगतका कार्यक्रमको निरन्तरता भएको टिप्पणी गर्दै उहाँले ठोस योजना ल्याएर युवाहरूलाई कृषितर्फ आकर्षण गर्ने कार्यक्रम लागू गर्न सरकारलाई अनुरोध गर्नुभयो । त्यस्तै, सदस्य कलबहादुर हमालले रैथाने बाली, बगैँचा व्यवस्थापन, उद्यमशीलता, युवा स्वरोजगारलगायतका कार्यक्रम आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकारको प्रमुख जोड हुनुपर्ने धारणा राख्नुभयो । आज १२ गते भौतिक पूर्वाधार तथा सहरी विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय, १३ गते सामाजिक विकास तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, १४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश योजना आयोग र मुख्य न्यायधिवक्ताको कार्यालयका शीर्षकहरुमाथि छलफल हुने सभामुख गुरुङले बताउनुभयो । –––

प्रकाशित : १२ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६