महेन्द्रनगर (धनुषा), १३ असार
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिताको विश्वासनीयता, मर्यादा र व्यावसायिकता अभिवृद्धिका लागि सञ्चारकर्मीले आचारसंहिता, भाषा र शैलीको पालना गर्दै तथ्यपरक, निष्पक्ष र उत्तरदायी पत्रकारिता गर्नुपर्ने बताउनुभएको छ । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ उद्घाटन गर्दै मन्त्री महतोले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र जिम्मेवार प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले सञ्चारमाध्यमले समाजमा सही सूचना प्रवाह गर्दै जनविश्वास कायम राख्नुपर्नेमा जोड दिँदै पत्रकारिता पेसालाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन सबै पक्षको साझा प्रयास आवश्यक धारणा राख्नुभयो । मन्त्री महतोले पछिल्लो समय सूचना प्रविधिको तीव्र विकाससँगै सूचना सम्प्रेषणको गति बढेको उल्लेख गर्दै त्यससँगै गलत, अपुष्ट र भ्रामक सूचना फैलिने चुनौती पनि बढेकाले पत्रकारले समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, भाषिक शुद्धता र पत्रकारिताको आचारसंहितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विश्वसनीय पत्रकारिताले मात्र नागरिकको विश्वास जित्न सक्ने भएकाले सञ्चारकर्मीले पेसागत मर्यादा र नैतिकतालाई सधैँ उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय समाचार समिति(रासस)का पूर्वअध्यक्ष धर्मेन्द्र झाले समाचार लेखनमा तथ्यपरकता, सन्तुलन, भाषिक शुद्धता र सम्पादकीय अनुशासनको महत्वबारे प्रकाश पार्दै पत्रकारिताको मूल आधार विश्वसनीयता रहेको बताउनुभयो । उहाँले समाचारमा प्रयोग हुने भाषा सरल, स्पष्ट र सबैले बुझ्ने खालको हुनुपर्ने तथा पत्रकारले सत्यतथ्य पुष्टि नगरी सूचना सम्प्रेषण गर्न नहुने विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिताको पेसागत मर्यादा जोगाउन पत्रकार स्वयं जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि जोडिएको उल्लेख गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट पत्रकारिताप्रति जनविश्वास थप मजबुत हुने विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारको क्षमता अभिवृद्धि, पेसागत सुरक्षा तथा जिम्मेवार पत्रकारिता प्रवर्द्धनका लागि यस्ता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि राज्य, सञ्चारसम्बन्धी निकाय र सञ्चारकर्मीबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले डिजिटल माध्यमको विस्तारसँगै सञ्चार क्षेत्र नयाँ अवसर र चुनौती दुवैबाट गुज्रिरहेको उल्लेख गर्दै पत्रकारले प्रविधिको सदुपयोगसँगै नैतिकता र व्यावसायिक मापदण्डलाई समान महत्व दिनुपर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारितालाई थप विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउन आचारसंहिता तथा भाषा–शैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले पत्रकारको क्षमता विकास, समाचारको गुणस्तर अभिवृद्धि तथा जिम्मेवार सञ्चार अभ्यासलाई संस्थागत गर्न मिडिया काउन्सिलले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो । एकदिने अभिमुखीकरण कार्यक्रममा जिल्लाबाट सहभागी पत्रकारलाई पत्रकारिताको आचारसंहिता, समाचार लेखन, भाषा तथा शैली, तथ्य परीक्षण, सम्पादकीय जिम्मेवारी, डिजिटल पत्रकारिताका चुनौती तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा विज्ञद्वारा सहजीकरण गरिने जनाइएको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सञ्चारसम्बद्ध निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।









प्रतिक्रिया