ब्रेकिंग न्युज

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…



बन्दीपुर (तनहुँ), १ साउन

तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावका कारण सुरुआती वर्षमा पर्यटकको चहलपहल कम थियो । गत वर्षदेखि यहाँ स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य रूपमा आउन थालेका छन् । हाल दैनिक १५ देखि २० जना तथा बिदाका दिन पर्यटक बास बस्न आउने गरेका छन् । बन्दीपुर आउने विदेशी पर्यटकसमेत रामकोट पुग्न थालेका छन् । रामकोटका मौलिक घर, मगर कला–संस्कृति तथा अग्र्यानिक परिकारका कारण पर्यटक आकर्षित हुन थालेका हुन् । “पहिले निकै कम पर्यटक आउथे । अहिले भने धेरै पर्यटक आउन थालेका छन् । बन्दीपुर आउने पर्यटक ‘एकपटक रामकोट पनि पुगौँ’ भनेर आउँछन्”, रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले भन्नुभयो, “बन्दीपुरपछिको दोस्रो गन्तव्यका रूपमा रामकोट विकास हुँदै गएको छ । प्रचारप्रसार पनि बढेको छ । हामी खुसी छौँ, अझै धेरै काम गर्न बाँकी छ ।” पछिल्लो समय बन्दीपुरबाट रामकोटसम्म ‘भिलेज सफारी’ सेवा सञ्चालनमा आएपछि पर्यटकलाई पुग्न थप सहज भएको छ । भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले बन्दीपुर आउने पर्यटक रामकोट जान उत्सुक हुन थालेको बताउनुभयो । रामकोटका ९५ घरमध्ये ४८ घर होमस्टे समूहमा आबद्ध छन् । तीमध्ये १५ घरमा मात्र होमस्टे सञ्चालनमा छन् । हाल एक रातमा ३० जनासम्म पर्यटकलाई बस्ने व्यवस्था गर्न सकिन्छ । एक रातको बसाइ र खानाको प्रतिव्यक्ति शुल्क रु एक हजार २०० छ भने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेबापत थप रु तीन हजार लिने गरिएको छ । पछिल्ला वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेसँगै गाउँमा आयआर्जनका अवसर पनि विस्तार भएका छन् । पहिले घाँस–दाउरा र मेलापातमा व्यस्त रहने महिला अहिले मगर पहिरनमा सजिएर लामबद्ध रूपमा ‘झोर्ले’ भन्दै पर्यटकको स्वागत गर्छन् । त्यहाँ पुग्ने पाहुनालाई सेतो अक्षता, फूलको माला र स्टिलको गिलासमा ‘सगुन’ दिएर स्वागत गर्ने परम्परा छ । सामूहिक एकता र स्थानीय संस्कृतिका कारण साँझपख गाउँमा गुञ्जिने झ्याउरे, कौरा र चुट्काले पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । बेलुका स्थानीय अग्र्यानिक परिकार, कोदो र फापरको ढिँडो, गुन्द्रुकको अचार तथा लोकल कुखुराको मासु पाहुनालाई खुवाइन्छ । खाना पकाउने काममा स्थानीय महिला अग्रसर हुन्छन् भने पुरुषले सहयोग गर्ने गरेका छन् । पर्यटकलाई एउटै घरमा खाना खुवाउने र छुट्टाछुट्टै घरमा बास बस्ने व्यवस्था गरिएको छ । बिहान उनीहरू बसेकै घरमा कोदोको सेलरोटी, तरकारी, अचार र चियासहितको नास्ता गर्छन् । फर्कने बेला प्रत्येक पर्यटकलाई सेतो अक्षता र फूलको माला लगाएर बिदाइ गरिन्छ । समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको रामकोट मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै मानिन्छ । शान्त वातावरण र मौलिक गाउँले जीवनको प्रत्यक्ष अनुभव लिन चाहने पर्यटक यहाँ पुग्ने गर्छन् । यहाँबाट हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले पनि रामकोट पर्यटकको रोजाइमा पर्न थालेको हो । रामकोटका ढुङ्गा छापिएका गल्ली सफा र आकर्षक छन् । मिलाएर राखिएका मकैका सुली, दाउराका खलिया र आँगनमा बिछ्याइएका ढुङ्गाले गाउँको सौन्दर्य थप बढाएको छ । होमस्टे सञ्चालनपछि स्थानीयले कुखुरा, बाख्रा, सुँगुरपालन, तरकारीखेती तथा स्थानीय मदिरा उत्पादनमार्फत अतिरिक्त आम्दानी गर्न थालेका छन् । यसले साना–साना आर्थिक आवश्यकता पूरा गर्न सहज भएको स्थानीय महिला बताउँछन् । होमस्टे सञ्चालनसँगै महिलामा बचत गर्ने बानीको समेत विकास भएको छ । मगर संस्कृतिको संरक्षणसँगै स्थानीयको आयआर्जन बढाउने उद्देश्यले स्थापना गरिएको होमस्टे सफल बन्दै गएकामा स्थानीय खुसी छन् । रामकोट सामुदायिक होमस्टेका अध्यक्ष आले पर्यटकको आगमन बढेसँगै युवाले गाउँमै सम्भावना देख्न थालेको बताउनुहुन्छ । उहाँका अनुसार २०८३ सालभित्र एकै रातमा २०० जना पर्यटकलाई बास बस्न मिल्ने पूर्वाधार तयार गर्ने लक्ष्य राखिएको छ । साथै, युवालाई गाउँमै सक्रिय बनाएर हराउँदै गएको ठाडो भाका र मारुनी नाचको संरक्षण तथा पुनर्जीवनमा पनि जोड दिइनेछ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले रामकोटका गल्लीमा ढुङ्गा छाप्ने तथा अन्य पूर्वाधार निर्माणका काम पालिकाले समन्वय गरेर अघि बढाइरहेको बताउनुहुन्छ । बन्दीपुरसहित व्यास नगरपालिकाभित्रका होमस्टेलाई जोडेर ‘होमस्टे सर्किट’ निर्माण गरी पर्यटकलाई एक रात रामकोटमा बास बस्ने कार्यक्रम ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । रामकोट बन्दीपुरबाट मुच्चुक हुँदै ५.५ किलोमिटर, सेराटार हुँदै आठ किलोमिटर तथा पृथ्वी राजमार्गको छिर्कनेबाट सात किलोमिटर दूरीमा पर्छ । –––

Powered By  Orson Infotech

प्रकाशित : १ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६