कर्णाली

सुशासनका लागि सामाजिक परीक्षण



कर्णाली, २१ कात्तिक

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले सामाजिक परीक्षण सुशासनको महत्वपूर्ण कडी भएको बताउनुभएको छ । सेभ द चिल्ड्रेनद्वारा सुर्खेत वीरेन्द्रनगरमा शुक्रबार आयोजित ‘सामाजिक परीक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मल्लले पारदर्शिता, जवाफदेहिता, जनसहभागिता र कानुनी शासनको परिपालना गर्दै सामाजिक परीक्षण गर्नाले सुशासनमा सहयोग पुग्ने बताउनुभयो । मन्त्री मल्लले भन्नुभयो, “विकास साझेदार निकायमा सेभ द चिल्ड्रेनको भूमिका कर्णालीमा महत्वपूर्ण देखिन्छ । सरकारले लिएको नीति, योजना तथा कार्यक्रमलाई परिणाममुखी र उपलब्धिमूलक बनाउन एक्लो प्रयासबाट हुन सक्दैन । यसका लागि साझेदार निकायको सामुहिक उद्देश्य, समन्वय र सहकार्यबाट मात्र सम्भव हुन्छ ।” सरकारको नीति, बजेट तथा कार्यक्रम तर्जुमाको अवधिमा आवश्यक सल्लाह दिन सो संस्थालाई उहाँले आग्रह गर्नुभयो । सेभ द चिल्ड्रेन सुर्खेतका प्रमुख रत्नराज ओझाले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका १९ जिल्लामा तीन तहका सरकारसँग संस्थाले काम गर्दै आएको बताउनुभयो । उहाँले शिक्षा, बाल संरक्षण, बाल अधिकार, स्वास्थ्य तथा पोषण, जीविकोपार्जन र जलवायु उत्थानशीलताका क्षेत्रमा काम गर्दै आएको जनाउनुभयो । सामाजिक परीक्षण कार्यक्रमका सहभागीले सेभ द चिल्ड्रेनको शिक्षा, बाल संरक्षण तथा अधिकार, जीविकोपार्जनका कार्यक्रमबाट पछिल्ला दिनमा बालविवाह रोक्न, सचेतनाका कार्यक्रम विस्तार गर्न र आयआर्जनमा स्वास्थ्य तथा पोषणका कार्यक्रमबाट समुदायले लाभ लिएको बताउनुभयो । कार्यक्रममा भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्ती, छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापा, शुभकालिका गाउँपालिका कालीकोटका अध्यक्ष गोविन्द आचार्य, भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष छवि सुवेदी र बेलाडाँडी गाउँपालिका कञ्चनपुरका अध्यक्ष हरिश्चन्द्र रानाले सेभ द चिल्ड्रेनले सरकारको सहयोगीका रूपमा समाजको संवेदनशील क्षेत्रमा काम गर्दै आएको बताएका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख, शिक्षा, स्वास्थ्य कार्यालयका प्रमुख, महिला तथा बालबालिका, उद्योग बाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, लैङ्गिक तथा अल्पसङ्ख्यक क्षेत्रका प्रतिनिधि र विकास साझेदारको सहभागिता रहेको थियो ।

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६