ब्रेकिंग न्युज

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह



काठमाडौँ, ७ साउन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनेको छ । यस्तै, बर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ । ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा, तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ । वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रुपमा आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ । जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटा, भिडियो नखिच्न, पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान र विपद्को सङ्केत देखिएमा सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ । यसैगरी, आफ्नो घरवरिपरि रहेका ढल तथा नाली सफा राख्न, बर्खाको समयमा सर्पले डस्ने जोखिम धेरै हुने भएकाले घरवरपर सफा राख्न, राति बाहिर हिँड्दा टर्च लाइटको प्रयोग गर्नु आवश्यक छ । चट्याङ पर्न लागेमा तुरुन्त सुरक्षित स्थानमा जान, महत्वपूर्ण कागजात, अत्यावश्यक औषधि, नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न, मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ । अफवाहको पछाडि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम र विपद्बारेको आधिकारिक सूचना नियमित सुन्न एवम् हेर्न सचेत गराइएको छ । विपद्सम्बन्धी सूचना एवम् उद्धारका लागि १२३४, १०० र १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भइसकेको छ । विपद्का कारण ठूलो जनधनको क्षति हुन नदिन र पूर्वसावधानी अपनाउनका लागि प्राधिकरणले अनुरोध गर्दै आएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर कुल ४७ वटा विपद्का घटना घटेका छन् । प्राधिकरणका अनुसार विपद्का कारण रु १३ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ । विपद्मा परेर तीन जनाको ज्यान जाँदा आठ जना घाइते भएका छन् । यही साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म सर्पदंश, आगलागीका आठ÷आठ वटा घटना घटेका छन् । यस्तै, बाढीका दुई, पहिरो १४, अविरल वर्षा आठ, जनावर आक्रमण तीन र हावाहुरीको एक घटना घटेका छन् । –––

प्रकाशित : ७ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६