कर्णाली, ८ साउन
कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन् । मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै कांग्रेस र नेकपाले सहकार्य गर्दै नयाँ सरकार बनाउने तयारी गरेका हुन् । गत असार ३१ गते सत्तासाझेदार दल कांग्रेसका चार मन्त्रीहरुले प्रदेश सरकारबाट राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कँडेलविरुद्ध असार ३२ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । उक्त प्रस्ताव दर्ता गरेको एक हप्तापछि सभामुख नन्दा गुरुङले यही साउन ७ गते बैठक बोलाउनुभएको थियो । सभामुख गुरुङले बिहीबार बोलाउनुभएको बैठक विशेष कारणवश बस्न नसकेको सूचना सार्वजनिक गर्दै यही साउन ९ गते दिउसो ३ः०० बजे बस्ने तय भएको जानकारी दिनुभयो । कर्णाली प्रदेशसभामा नेकपाका नेता मङ्गलबहादुर शाहीले असार ३२ गते प्रदेशसभा सचिवालयमा पेस गर्नुभएको मुख्यमन्त्री कँडेल विरुद्धको अविश्वास प्रस्तावका पक्षमै मतदान गरेर नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो । “हामी आफ्नो निर्णयका आधारमा अगाडि बढ्छौँ,” उहाँले भन्नुभयो, “अब कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ । नेकपाले त्योभन्दा अरु फरक कुनै देखेको छैन र सम्भव पनि हुँदैन ।” कर्णाली प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले नेकपासँग भएको समझदारीका आधारमा नै कांग्रेस अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपाकै समर्थनमा हाम्रो दलको नेतालाई सरकारको नेतृत्व गर्ने सहमतिबाट मुख्यमन्त्री प्रस्ताव गरेर अगाडि बढेका हौँ । अब छिट्टै कांग्रेस र नेकपाको समीकरणमा नयाँ सरकार गठन हुन्छ ।” कर्णाली प्रदेशसभामा हाल ४० प्रदेशसभा सदस्य छन् । सरकार गठन गर्न २० सदस्य आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका १५ र नेकपाका १४ प्रदेशसभा सदस्य रहेका छन् ।










प्रतिक्रिया