कर्णाली

त्रिचालिस हजार सवारीसाधन कारबाहीको दायरामा



महेन्द्रनगर, ३ भदौ

सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । गत साउनमा मात्रै ट्राफिक कारबाहीबाट रु ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको छ । साउनमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ८७ जना चालकलाई कारबाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । ट्राफिक नियम पालना नगर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जिप÷कार, ट्रक र ट्याक्टरलगायतका सवारीसाधन बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए । यसैगरी, आठ हजार ८९३ जिप÷कार, छ हजार २८५ ट्रक, तीन हजार ७११ ट्याक्टर, एक हजार ७८५ बस र चार हजार ८९० अन्य सवारीसाधन कारबाहीमा परेका थिए । प्रहरी उपरीक्षक कार्कीले सुदूरपश्चिममा सवारीसाधनको सङ्ख्या बढ्नु, सडक साँघुरा हुनु तथा ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढेको बताउनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परी २५० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक हजार ३८१ जना गम्भीर र एक हजार १६२ जना सामान्य घाइते भएका थिए । गत वर्ष लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालकलाई कारबाही गरिएको थियो भने मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ६४१ चालकलाई कारबाही गरी जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : ३ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६