अन्तर्राष्ट्रिय

फ्लाई दुबईको पछिल्ला ४ उडानमा ५३१ यात्रु पोखरा अवतरण : पर्यटन क्षेत्र उत्साहित



पोखरा १२ असोज । संयुक्त अरब इमिरेट्स (यूएई) को प्रमुख वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरेको नियमित व्यावसायिक उडानमा यात्रुको उपस्थिति उत्साहजनक देखिएको छ। दुबईबाट पोखराका लागि भएका पछिल्ला ४ व्यावसायिक उडानमार्फत कुल ५३१ जना यात्रु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

विमानस्थल कार्यालयका अनुसार पोखरामा फ्लाइ दुबईको उडान सेवा सुरु भएयता यात्रुको आगमन र प्रस्थान दुवैतर्फ राम्रो अकुपेन्सी देखिएको छ। गत असोज ७ गते (सेप्टेम्बर २३) ११३ जना यात्रु बोकेर पहिलो व्यावसायिक उडान पोखरा आइपुगेको थियो। त्यसपछिका नियमित उडानहरूमा पनि विदेशमा रहेका नेपाली, विदेशी पर्यटक तथा स्थानीय व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको छ।

पोखराबाट दुबई फर्किने उडानहरूमा पनि यात्रुको सङ्ख्या उल्लेख्य छ। दुबई–पोखरा सोझो हवाई सम्पर्क स्थापना भएसँगै गण्डकी प्रदेश तथा आसपासका बासिन्दालाई वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय र भ्रमणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। साथै, इमिरेट्स एयरलाइन्ससँगको कोडसेयर साझेदारीका कारण पोखराबाट युरोप, अमेरिका तथा अस्ट्रेलिया जाने यात्रुहरूले समेत सहज ट्रान्सफर सुविधा पाएका छन्।

लामो समयको पर्खाइपछि सुरु भएको यो नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना र समग्र आर्थिक गतिविधिमा नयाँ आशा जगाएको पर्यटन व्यवसायीहरू बताउँछन्। उडानलाई निरन्तरता दिन सरकारले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा छुट दिनेलगायतका सहुलियत दिएको छ।

प्रकाशित : १२ आश्विन २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६