गण्डकी

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ



लमजुङ, १३ असोज

ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ । प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । विगतमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको सिङ्दीमा विसं २०७६ देखि घरबास (होमस्टे) सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्न थालेको हो । होमस्टे औपचारिक रूपमा भने विसं २०८१ मा दर्ता भएको हो । गाउँका २३५ घरमध्ये अहिले १८ घरमा घरबास सञ्चालन भइरहेको छ । सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुरुङका अनुसार यहाँ आउने पर्यटक प्रायःएकरात बस्ने गर्छन् । समूह बनाएर सवारीसाधन रिजर्भ गरी आउने पर्यटकको रोजाईको केन्द्र बनेको छ । नियमित रूपमा पर्यटक नआए पनि महिनामा करिब १०० जनासम्म पुग्ने उहाँले बताउनुभयो । “पहिला पर्यटक खासै आउँदैनथे । गुरुङ सम्पदा पदमार्गमा जोडिएपछि विस्तारै पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “विशेषगरी कलेजका युवा तथा विभिन्न समूह बनाएर आउनेक्रम बढेको छ ।” गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिङ्दीमा घाँटु, सोरठी र कृष्णचरित्रजस्ता मौलिक सांस्कृतिक कार्यक्रम पर्यटकलाई देखाउने गरिएको छ । गुम्बा तथा देवीस्थान मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिकस्थल पनि यहाँका आकर्षण हुन् । होमस्टेमा स्थानीय उत्पादनबाट तयार पारिएका चामल, कोदो, सागसब्जी, लोकल कुखुरालगायत परिकारलाई प्राथमिकता दिइन्छ । एकरात बसाइको प्याकेजका लागि प्रतिव्यक्ति रु एक हजार १०० लिने गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । सिङ्दीको पर्यटकीय सम्भाव्यता होमस्टेमा मात्र सीमित छैन । उक्त गाउँ गुरुङ सम्पदा पदमार्गसँग जोडिएको छ । कास्कीको ताङतिङ हुँदै क्रपु डाँडा, लमजुङका विभिन्न गुरुङ बस्ती पार गर्दै मनाङको तिमाङसम्म पुग्ने पदमार्गमा सिङ्दी पनि समेटिएको छ । पुरानो पैदल तथा व्यापारिक मार्ग, भेडीगोठ र खर्कलाई पर्यटनसँग जोड्ने यस पदमार्गमा अन्नपूर्ण, माछापुच्छ्रे«, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली र मनास्लुलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । सिङ्दीबाट कास्कीको मादी गाउँपालिका–२ स्थित क्रपु डाँडातर्फ पदमार्ग जोड्ने काम भइरहेको छ । यस क्रममा करिब एक हजार ३०० मिटर सिँढी निर्माण भइसकेको छ । बाँकी बाटोलाई व्यवस्थित गर्ने काम अघि बढाइएको छ । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँपालिकाले सिङ्दीको पर्यटन प्रवर्द्धनका लागि सडक तथा पदमार्ग विकासलाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनबाट अचारलगायत वस्तु तयार गर्ने तथा पर्यटनसँग सम्बन्धित सीपमूलक तालिम सञ्चालन गर्नुका साथै खेलकुद, सांस्कृतिक कार्यक्रम र प्रचारप्रसारलाई पनि जोड दिइएको उहाँले बताउनुभयो । धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुम्बा तथा प्रवेशद्वारलगायत संरचना निर्माणको काम भइरहेको उहाँको भनाइ छ । पर्यटनसँगै गाउँको सामाजिक जीवनमा पनि परिवर्तन आएको स्थानीय बताउँछन् । छैसट्ठी वर्षीय योगप्रसाद गुरुङका अनुसार होमस्टे सञ्चालनपछि घरआँगनको सरसफाइ र घरको व्यवस्थापनमा स्थानीयको ध्यान बढेको छ । आम्दानीको स्रोत थपिनुका साथै गाउँको प्रचारप्रसार पनि बढेको उहाँले बताउनुभयो । “पहिला खेतीपातीमै बढी निर्भर हुनुपथ्र्यो । गाउँ पनि धेरै चिनिएको थिएन । अहिले होमस्टे सञ्चालन भएपछि आम्दानीको स्रोत थपिएको छ, पर्यटक आउन थालेपछि गाउँको प्रचारप्रसार पनि भएको छ”, उहाँले भन्नुभयो । सडक तथा पदमार्गको पहुँच विस्तार, होमस्टे सञ्चालन, स्थानीय सीप विकास र सांस्कृतिक गतिविधिसँगै सिङ्दी गाउँ पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनिन थालेको छ । आधुनिक सुविधा विस्तार हुँदै गए पनि पुस्तौँदेखि जोगिँदै आएको संस्कार, संस्कृति, खानपान र ग्रामीण जीवनशैलीलाई संरक्षण गर्नसके सिङ्दीले आफ्नो मौलिकता कायम राख्दै पर्यटनबाट स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउनसक्ने देखिन्छ । –––

प्रकाशित : १३ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६