गण्डकी

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति



बागलुङ १४ असोज

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिराले जिल्लामा ६१ घर÷गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ । बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ । तीनवटा झोलुङ्गे पुल बगाएको र दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत्मा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ भने २५६ वटा पशुचौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् । निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ । निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रशासनले जनाएको छ । तमानखोला–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ । ढोरपाटन –७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । यस्तै गलकोट –१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ । काठेखोला – १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ । बाढीपहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन् । तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो । बाढीपीडितलाई गाउँपालिकाको राहत बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाभित्र मानवीय तथा भौतिक क्षति पुर्याएपछि गाउँपालिकाले तत्कालै नगद तथा खाद्यन्न राहत उपलव्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो । गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु ३० हजार र जोखिममा रहेका परिवारलाई रु १० हजारका दरले राहत उपलब्ध गराइएको छ । पाँच जना मृतकको परिवारलाई रु ५० हजारका नगद राहत उपलब्ध गराइएको थियो भने घरमा क्षति भएका २४ परिवारलाई रु ३० हजारका दरले र घरमा आंशिक क्षति भएका २१ परिवारलाई रु १० हजारका दरले सहयोग प्रदान गरिएको छ । निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ भने २१ जनाको घर उच्च जोखिममा रहेको छ । साथै चामाल तथा त्रिपालसमेत प्रदान गरिएको छ । –––

Powered By Orson Infotech

प्रकाशित : १४ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६