कपिलवस्तु १४ असोज
नेपाली कांग्रेसले पार्टीको १५ औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै तल्लो तहदेखि नै सांगठनिक संरचना चुस्त बनाउन जिल्ला सभापति तथा संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ। १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति शेरबहादुर देउवाको सभापतित्व तथा केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री प्रा. डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिले देशैभरका जिल्लाहरूमा संयोजक तथा सभापतिहरूको मनोनयन गरी नामावली सार्वजनिक गरेको हो।
यसै क्रममा लुम्बिनी प्रदेशका जिल्लाहरूमा पनि अधिवेशन सम्पन्न गराउनका लागि संयोजकहरू तोकिएका छन्। सार्वजनिक नामावली अनुसार लुम्बिनी प्रदेशका कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा बाबुराम पौडेल र गुल्मीमा वेदबहादुर थापालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। त्यसैगरी रुकुम (पूर्व) मा दत्त बहादुर बस्नेत, रोल्पामा मान बहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक मनोनयन गरिएको छ। लुम्बिनीका बाँकी २ जिल्लाहरूको नामावली भने क्रमशः सार्वजनिक गर्दै जाने तयारी गरिएको छ। त्यसरी वाँकी रहेका जिल्लामा रुपन्देही र नवलपरासी पश्चिम रहेका छन् ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार महाधिवेशन सम्पन्न गराउनका लागि देशका ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृतहरू खटाइसिकएको छ। महाधिवेशनको स्वीकृत कार्यतालिका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न हुनेछ। त्यसपछि मुख्य केन्द्रीय महाधिवेशन भने २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौँमा भव्यताका साथ आयोजना गरिनेछ। केन्द्रीय महाधिवेशन तयारी समितिले सम्पूर्ण तहका पार्टी साथीहरूलाई जुझारु र उत्साहपूर्ण ढंगले अधिवेशन प्रक्रियामा सहभागी भई संगठनलाई सुदृढ बनाउन निर्देशानुसार अनुरोध गरेको छ।
१५ आश्विन २०८३, बिहिबार









प्रतिक्रिया