खेतमा घट्दै श्रमको भार
कपिलवस्तु, १५ असोज ।
कृषिमा श्रम अभाव र बढ्दो लागत किसानका लागि चुनौती बन्दै गएका बेला कपिलवस्तुका किसानले कृषि प्रविधिलाई विकल्पका रूपमा अपनाउन थालेका छन्। धान काट्ने समय सुरु भएसँगै खेतमा परम्परागत श्रमशक्तिको स्थान कृषि यन्त्रले लिन थालेको छ। यसले कृषि पेशालाई निर्वाहमुखीबाट क्रमशः व्यावसायिक र प्रविधिमैत्री बनाउने संकेत देखाएको छ।
विशेषगरी धान काट्न प्रयोग हुने रिपर मेसिनप्रति किसानको आकर्षण पछिल्ला वर्षमा बढ्दै गएको छ। बाणगंगा नगरपालिका–४, बैरियास्थित जय किसान एग्रोमाट एण्ड मेसिनरीका सञ्चालक महेश घिमिरेका अनुसार गत आर्थिक वर्षमा मात्रै उनको व्यवसायबाट ५० भन्दा बढी रिपर मेसिन बिक्री भएका छन्। धानको सिजन सुरु भएसँगै यस्ता मेसिनको माग थप बढ्ने गरेको उनको भनाइ छ।
कृषिमा काम गर्ने जनशक्तिको अभाव, मजदुरको बढ्दो ज्याला र समयमै खेतीको काम सम्पन्न गर्नुपर्ने बाध्यताले किसानलाई यान्त्रिकीकरणतर्फ आकर्षित गरेको घिमिरे बताउँछन्। उनका अनुसार रिपर मेसिनले प्रतिघण्टा करिब १० देखि १५ कठ्ठासम्म धान काट्न सक्ने र करिब एक लिटर डिजेल खपत गर्ने गर्दछ। यसले छोटो समयमा ठूलो क्षेत्रफलको धान काट्न सहयोग पु¥याउने भएकाले किसानको समय र श्रम दुवै बचत हुने गरेको छ।
कृषि यान्त्रिकीकरणमा स्थानीय तथा प्रदेश सरकारबाट समय–समयमा उपलब्ध हुँदै आएको अनुदानले पनि किसानलाई प्रविधि अपनाउन सहज बनाएको छ। बाणगंगा क्षेत्रमा करिब ६० प्रतिशत किसानले कुनै न कुनै प्रकारका कृषि मेसिनरी तथा उपकरण प्रयोग गर्न थालेको घिमिरेको दाबी छ। यद्यपि यस्तो तथ्यांकको औपचारिक पुष्टि आवश्यक भए पनि खेतमा यन्त्रको प्रयोग बढ्दै गएको अवस्था भने प्रत्यक्ष देखिन थालेको छ।

धान काट्ने काममा मात्रै नभई खेत तयार पार्नसमेत किसानले आधुनिक उपकरणको प्रयोग बढाएका छन्। मिनि टिलर जोत्न प्रयोग हुने प्रमुख उपकरणका रूपमा स्थापित हुँदै गएको छ। घिमिरेका अनुसार मिनि टिलरले प्रति घण्टा करिब ५ देखि १० कठ्ठा सम्म जमिन जोत्न सक्ने र करिब एक लिटर डिजेल खपत गर्ने गर्दछ। यसबाट किसानले कम जनशक्तिमा खेतीको तयारी गर्न सक्ने अवस्था बनेको छ।
कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रभाव खेतीपातीको काममा मात्र सीमित छैन। घाँस काट्ने मेसिन, दाना कुट्ने उपकरण, पशुपालनमा प्रयोग हुने काउ म्याट लगायतका सामग्रीको प्रयोग समेत बढ्दै गएको व्यवसायीहरू बताउँछन्। कृषि उत्पादनसँगै पशुपालनलाई पनि प्रविधिसँग जोड्न सके उत्पादन लागत घटाउने, श्रम व्यवस्थापन गर्ने र व्यावसायिक उत्पादन विस्तार गर्ने सम्भावना बढ्छ।

कृषिमा प्रविधिको प्रवेशलाई मजदुरको विकल्पका रूपमा मात्र बुझ्नु उपयुक्त हुँदैन। यसले किसानलाई समयमै खेती गर्न, श्रम र लागत व्यवस्थापन गर्न, उत्पादनको आकार बढाउन तथा कृषिलाई व्यवसायसँग जोड्न मद्दत गर्छ। खेतमा यन्त्रको प्रयोग बढ्नु कृषि औद्योगिकीकरण तर्फ अघि बढ्ने आधार समेत बन्न सक्छ।
तर यान्त्रिकीकरणसँगै किसानको आवश्यकता र स्थानीय अवस्था अनुसार उपयुक्त प्रविधि छनोट, मेसिन सञ्चालन सम्बन्धी सीप, मर्मत सम्भारको व्यवस्था र सहज वित्तीय पहुँच आवश्यक हुन्छ। सरकारले अनुदान वितरणमा पारदर्शिता र वास्तविक किसानको पहुँच सुनिश्चित गर्दै ‘मेसिन दिने’ मात्र होइन, ‘मेसिन चलाउने सीप र बजार दिने’ नीति अघि बढाउन सके कृषि अझ दिगो र व्यावसायिक बन्न सक्छ।
कृषि हाम्रो अर्थतन्त्रको आधार हो। अब कृषिलाई परम्परागत श्रममा मात्र निर्भर राखेर उत्पादन र आम्दानी बढाउन कठिन हुँदै गएको छ। त्यसैले हलोजोतदेखि धान कटानी सम्म र पशुपालनदेखि उत्पादन प्रशोधनसम्म प्रविधिको विस्तार गर्न सके किसानको श्रमलाई सम्मान गर्दै कृषिलाई उद्योगसँग जोड्न सकिन्छ। प्रविधिमैत्री कृषि नै भविष्यको आत्मनिर्भर र समृद्ध कृषिको महत्वपूर्ण आधार बन्न सक्ने कृषि क्षेत्रका जानकारहरुको भनाइ रहेको छ।









प्रतिक्रिया