कपिलवस्तु १८ असोज
बाणगंगा नगरपालिकाले सार्वजनिक बिदाको दिनसमेत बजार अनुगमनलाई निरन्तरता दिएको छ । बजारमा बिक्री–वितरण भइरहेका दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको गुणस्तर र व्यवसाय सञ्चालनको वैधानिकताबारे शनिबार पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको प्याकेजिङ, लेबल, उत्पादन मिति र म्याद गुज्रिएको अवस्थालगायतका विषयमा निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । म्याद गुज्रिएका खाद्यान्न तथा उपभोग्य वस्तु फेला परेमा जफत गर्ने कार्यसमेत गरिएको छ ।त्यसैगरी, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गर्न सात दिनको समय दिइएको छ । व्यवसाय सञ्चालन गर्दा आवश्यक कागजात तथा वैधानिक प्रक्रिया पूरा गर्न अनुगमन टोलीले व्यवसायीलाई सचेत गराएको छ ।
बाणगंगा नगरपालिकाका सहायक प्रशासकीय अधिकृत दीपक पाण्डेले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले उपभोक्ताको स्वास्थ्य र हितलाई प्राथमिकतामा राख्दै व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष खिमानन्द पौडेलले बजार अनुगमन नियमित र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्दा कानुनी प्रक्रिया पूरा गरी वैधानिक रूपमा व्यवसाय गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न, व्यवसायको दर्ता तथा नवीकरण गर्न र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरिएको छ ।संयुक्त रूपमा गरिएको अनुगमनले व्यवसायीलाई नियम पालना गर्न र उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित वस्तु उपलब्ध गराउन थप सचेत बनाउने अपेक्षा गरिएको छ । अनुगमनमा नगरपालिका कर्मचारी, उद्योग व्यापार संघका प्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
१७ आश्विन २०८३, शनिबार









प्रतिक्रिया