मन्दिरको प्राणप्रतिष्ठा र अक्षयकोष स्थापनाका लागि असोज २५ देखि कात्तिक ३ गतेसम्म श्रीमद् देवीभागवत महापुराण महायज्ञ, तयारीमा जुटे स्थानीयवासी
कपिलवस्तु, २३ असोज।
धर्म, संस्कार र आध्यात्मिक चेतनाको उज्यालो फैलाउँदै सामाजिक सद्भाव र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ। मन्दिरको प्राणप्रतिष्ठा तथा अक्षयकोष स्थापना गर्ने पवित्र उद्देश्य सहित असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो।
महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी स्थानीय समुदायको आस्था, संस्कृति र आपसी सद्भावलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिइएको छ। मन्दिरको दीर्घकालीन संरक्षण, नियमित सञ्चालन र धार्मिक गतिविधिलाई व्यवस्थित बनाउन अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
महायज्ञ नजिकिँदै गर्दा मन्दिर परिसरमा तयारीका काम तीव्र पारिएको छ। मन्दिरको साजसज्जा, सरसफाइ, आवश्यक निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन्। मूल समारोह समिति, विभिन्न उपसमिति र स्थानीयवासी भक्तिभावका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय भएका छन्। सामूहिक सहयोग, श्रमदान र आपसी समन्वयले मन्दिर परिसरमा धार्मिक उत्सवको रौनक बढ्दै गएको छ।
मूल समारोह समितिका संयोजक मुनाराम चालिसेका अनुसार महायज्ञलाई भव्य, सभ्य, व्यवस्थित र उद्देश्यअनुरूप सम्पन्न गर्न समिति तथा उपसमितिका पदाधिकारी, सदस्य र स्थानीयवासी हार्दिकतापूर्वक जुटिरहेका छन्। धार्मिक आस्थालाई सामाजिक एकता र सेवासँग जोड्ने लक्ष्यसहित सबै पक्षको सहयोग र सहकार्यमा तयारी अघि बढाइएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “यो महायज्ञ मन्दिरको प्राणप्रतिष्ठा र अक्षयकोष स्थापनाका लागि मात्र नभई हाम्रो धार्मिक आस्था, संस्कार, संस्कृति र सामाजिक एकतालाई बलियो बनाउने पवित्र अवसर पनि हो। यसलाई सफल बनाउन समिति, उपसमिति र स्थानीयवासी सबै मन, वचन र कर्मले जुट्नुभएको छ। सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी तथा स्थानीयवासीलाई असोज २५ गतेदेखि महायज्ञमा उपस्थित भई सहभागिता जनाउन हार्दिक आग्रह गर्नु भएको छ ।









प्रतिक्रिया