अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता



मियामी,अमेरिका, २४ असोज (रासस/एएफपी) :

रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले शुक्रबार अमेरिकाको मियामीमा अमेरिकी, युक्रेनी तथा युरोपेली अधिकारीहरूबीच महत्वपूर्ण कूटनीतिक छलफल भएको छ । बढ्दो ऊर्जा मूल्य, क्षेत्रीय सुरक्षा चुनौती र युद्धको निरन्तरताले शान्तिपूर्ण समाधान खोज्ने प्रयासलाई थप महत्वपूर्ण बनाएको छ । अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार बैठकमा बेलायत, फ्रान्स र जर्मनी सम्मिलित समूह ‘ईथ्री’, युरोपेली आयोग, युक्रेन तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रतिनिधिहरू सहभागी थिए । छलफलमा युद्ध अन्त्यका सम्भावित उपाय, ऊर्जा सुरक्षा, अनाज निर्यात, युक्रेनका लागि सुरक्षा प्रत्याभूति तथा दीर्घकालीन शान्ति स्थापना गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो । त्यसैगरी, युद्धपछिको पुनर्निर्माण, युक्रेनको आर्थिक समृद्धि र युरोपेली संघ (ईयू) को सदस्यता प्रक्रियामा सहयोग गर्ने विषयले पनि प्राथमिकता पाएको विटकफले बताउनुभयो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्ने र नोभेम्बरमा थप पाँच लाख टन उपलब्ध गराउने बताउनुभएको छ । अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल विश्व बजारमा आपूर्ति गर्न अस्थायी अनुमति दिएको जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामार्फत समाधान खोज्न नसकिए द्वन्द्व थप चर्किन सक्ने चेतावनी दिनुभएको छ । उहाँले युद्ध छिमेकी नेटो सदस्य राष्ट्रसम्म फैलिने जोखिमप्रति पनि चिन्ता व्यक्त गर्दै सैन्य माध्यमबाट मात्र यसको समाधान सम्भव नहुने बताउनुभयो । युद्ध अन्त्यका लागि मुख्य चुनौती भूभागसम्बन्धी विवाद बनेको छ । रुसले पूर्वी डोनबास क्षेत्रको सम्पूर्ण भूभागमाथि नियन्त्रण कायम गर्नुपर्ने माग गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो नियन्त्रणमा रहेका क्षेत्र रुसलाई सुम्पन अस्वीकार गर्नुभएको छ । हाल रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ । अमेरिकाले नोभेम्बरको मध्यावधि निर्वाचनअघि कूटनीतिक प्रगति हासिल गर्ने प्रयास गरिरहेको छ । क्रेमलिनले अक्टोबरमा अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता पुनः सुरु हुन सक्ने संकेत दिए पनि मिति तय भएको छैन । —

प्रकाशित : २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६