अन्तर्राष्ट्रिय

ट्रम्पका उत्तराधिकारीका रूपमा भान्सको चर्चा चुलिँदै, रिपब्लिकनलाई मध्यावधि चुनावको चुनौती



लिमा, २४ असोज (रासस/एएफपी):

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा नगरे पनि उहाँको राजनीतिक सक्रियता र समर्थकहरूको उत्साहले सम्भावित उम्मेदवारीबारे चर्चा चुलिएको छ। तर, आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले चुनौतीपूर्ण प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी भान्स शुक्रबार आफ्नो गृहराज्य ओहायोको लिमामा आयोजित चुनावी सभामा सहभागी हुनुभयो । आगामी मध्यावधि निर्वाचनका लागि रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा आयोजित सभामा उहाँ पुग्दा समर्थकहरूले भव्य स्वागत गरेका थिए। त्यहाँ ‘भान्स २०२८’ लेखिएको टोपी लगाएका समर्थकसमेत देखिएका थिए। यद्यपि भान्सले आगामी राष्ट्रपतीय निर्वाचनसँग ओहायोको मध्यावधि चुनावको कुनै सम्बन्ध नरहेको बताउनुभएको छ । उहाँका अनुसार निर्वाचनको महत्व आगामी वर्षहरूमा देशको शासन सञ्चालनसँग जोडिएको छ। तर जनमत सर्वेक्षणहरूले राष्ट्रपति ट्रम्पको घट्दो लोकप्रियता, इरानसँगको युद्ध र बढ्दो जीवनयापन खर्चका कारण रिपब्लिकनहरूले अमेरिकी कङ्ग्रेसमा आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेका छन्। ओहायोमा सिनेटको सिट र गभर्नर पदका लागि पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ। गभर्नर पदमा पूर्व राष्ट्रपतीय उम्मेदवार विवेक रामास्वामी चुनावी मैदानमा छन्। ट्रम्पले समेत हालै उक्त राज्यको भ्रमण गर्नुभएको छ । कङ्ग्रेसमा बहुमत गुमाउनु ट्रम्पका लागि राजनीतिक रूपमा कठिन हुन सक्छ । त्यसले उहाँको कार्यकालको बाँकी दुई वर्षमा डेमोक्र्याटहरूले विभिन्न अनुसन्धान अघि बढाउने सम्भावना बढाउन सक्छ। अर्कोतर्फ, ओहायोमा रिपब्लिकनहरूको कमजोर प्रदर्शनले भान्सको राजनीतिक छविमा पनि असर पार्न सक्छ। सन् २०२८ को दौडमा भान्स अगाडि? ट्रम्पको सम्भावित उत्तराधिकारीका रूपमा भान्सलाई रिपब्लिकन पार्टीभित्र बलियो दाबेदार मानिन्छ। तर उहाँले उम्मेदवारीबारे औपचारिक घोषणा गर्नुभएको छैन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भान्सविरुद्ध प्रतिस्पर्धा नगर्ने बताउनुभएको छ । यद्यपि रुबियोका सार्वजनिक अभिव्यक्तिलाई सम्भावित राष्ट्रपतीय आकाङ्क्षा सँग जोडेर हेरिएको छ । बयालिसवर्षीय भान्सले आफ्नो राजनीतिक छवि बलियो बनाउन परिवारलाई समेत सार्वजनिक कार्यक्रममा सहभागी गराउन थाल्नुभएको छ । उहाँले पत्नी उषा, तीन सन्तान र एटलस नामको कुकुरसँग सिनसिनाटी यात्रा गर्नुभएको थियो, जहाँ उहाँले अग्रिम मतदान गर्नुभयो । रिपब्लिकन नेसनल कमिटीको आर्थिक सङ्कलनसम्बन्धी जिम्मेवारीले पनि उहाँलाई प्रभावशाली दाताहरूसँग निकट बनाएको छ। ट्रम्प प्रशासनसँग जोडिएका नीतिका कारण उत्पन्न राजनीतिक दबाबबाट अलग देखिने प्रयासमा रहेका भान्सले अमेरिकी परिवारको आर्थिक कठिनाइप्रति आफू सचेत रहेको सन्देश दिँदै आउनुभएको छ । यसले विगतमा ट्रम्पप्रति आफ्नो आलोचनात्मक धारणा राखेका कारण बनेको राजनीतिक छवि परिवर्तन गर्न पनि सहयोग पुग्न सक्छ। शुक्रबार उहाँले पेन्टागन प्रमुख पिट हेगसेथको मृत्युदण्डसम्बन्धी घोषणाबाट आफूलाई अलग राख्ने सङ्केत दिनुभयो । अमेरिकी सेनाले फायरिङ स्क्वाडमार्फत दिइने मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने विषयमा सोधिएको प्रश्नमा भान्सले आफूले त्यस्तो प्रसारण नहेर्ने बताउनुभयो । –––

Powered By Orson Infotech

प्रकाशित : २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६