ब्रेकिंग न्युज

आर्थिक सङ्कट व्यवस्थापनमा अनुसन्धानको योगदान, हल र वुडफोर्डलाई नोबेल



स्टकहोम, २७ असोज (रासस/सिन्ह्वा)
आर्थिक उतारचढाव व्यवस्थापन गर्न सरकार तथा केन्द्रीय बैंकलाई सहयोग पुग्ने आर्थिक मोडेल विकासमा पु¥याएको योगदानको कदर गर्दै अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार पुरस्कार घोषणा गर्दै दुवै अर्थशास्त्रीले समष्टिगत आर्थिक स्थिरीकरणका लागि सूक्ष्म आर्थिक आधार विकासमा महत्वपूर्ण योगदान पु¥याएको जनाएको छ । उहाँहरूको अनुसन्धानले आर्थिक नीतिको प्रभाव बुझ्न तथा उपयुक्त समयमा वित्तीय र मौद्रिक नीति अवलम्बन गर्न सहयोग पु¥याएको एकेडेमीले उल्लेख गरेको छ । स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक हलले भविष्यको आर्थिक अवस्थाबारे मानिसको अपेक्षाले उपभोगसम्बन्धी निर्णयमा पार्ने प्रभावको अध्ययन गर्नुभएको छ । त्यसैगरी, कोलम्बिया विश्वविद्यालयका प्राध्यापक वुडफोर्डले व्यवसायहरूले वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने व्यवहार र त्यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गर्नुभएको छ । उहाँहरूको अनुसन्धानले मुद्रास्फीति, उत्पादन र उपभोगजस्ता आर्थिक सूचकको अध्ययनसँगै घरपरिवार तथा व्यवसायका निर्णयलाई समेत आर्थिक मोडेलमा समेट्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले मौद्रिक नीतिले आर्थिक गतिविधिमा पार्ने प्रभाव बुझ्न आवश्यक सैद्धान्तिक आधार प्रदान गरेको छ । आर्थिक संकट व्यवस्थापनमा अनुसन्धानको महत्त्व सन् १९७० को दशकमा तेलको मूल्यवृद्धिसँगै पश्चिमी अर्थतन्त्रहरूमा उच्च मुद्रास्फीति र बेरोजगारी एकैपटक देखिएपछि प्रचलित आर्थिक सिद्धान्त र नीतिगत उपायको प्रभावकारिताबारे बहस सुरु भएको थियो । हल र वुडफोर्डको अनुसन्धानले यस्ता आर्थिक झट्काको प्रभाव विश्लेषण गर्न तथा नीतिगत निर्णयका सम्भावित परिणाम बुझ्न सहयोग पु¥याएको छ । उहाँहरूको योगदानले नयाँ केनेसियन आर्थिक मोडेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस्ता मोडेलले घरपरिवार तथा व्यवसायको व्यवहार र सरकारी नीतिबीचको सम्बन्ध विश्लेषण गर्न सहयोग गर्छन् । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि केन्द्रीय बैंकहरूले भविष्यमा ब्याजदरको दिशा र अपेक्षाबारे सार्वजनिक संकेत दिने ‘फरवार्ड गाइडेन्स’ नीतिलाई थप महत्व दिएका थिए । वुडफोर्डको अनुसन्धानले यस नीतिको सैद्धान्तिक आधार विकास गर्न योगदान पु¥याएको छ । वर्तमान विश्व अर्थतन्त्र ऊर्जा मूल्यमा हुने उतारचढाव, मुद्रास्फीति र भूराजनीतिक अनिश्चितताबाट प्रभावित भइरहेका बेला उहाँहरूको अनुसन्धान सान्दर्भिक देखिएको छ । यद्यपि, आर्थिक मोडेलले सबै संकटको परिणाम यथार्थ रूपमा पूर्वानुमान गर्न नसक्ने भएकाले तिनको प्रभावकारिता उपलब्ध तथ्यांक र नीतिगत कार्यान्वयनमा निर्भर रहने गर्छ । यस वर्षको अर्थशास्त्र पुरस्कारको कुल राशि एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । —

Powered By Orson Infotech

प्रकाशित : २७ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६