अन्तर्राष्ट्रिय

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै



मेक्सिको सिटी,२७ असोज (रासस/सिन्ह्वा)


मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (यूएसएमसीए) अझै वैध तथा कार्यान्वयनमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई अन्त्य गर्ने वा खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको स्थानमा नयाँ सम्झौता ल्याउन सकिने संकेत दिँदै आएका बेला शेनबामको यो भनाइ सार्वजनिक भएको हो । शेनबामका अनुसार यूएसएमसीएको व्यवस्थाअनुसार सम्झौता लागू भएको छ वर्षपछि यसको कार्यान्वयन, प्रभावकारिता तथा आवश्यक सुधारका विषयमा समीक्षा गरिन्छ । उक्त प्रक्रियाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न तीनै देश सहमत छन् वा छैनन् भन्ने विषयको समेत टुंगो लगाउनेछ । मेक्सिको र क्यानडाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न प्रस्ताव गरेका छन् भने अमेरिकाले आगामी १० वर्षसम्मको संरचना कायम राख्दै प्रत्येक वर्ष समीक्षा गर्ने प्रस्ताव अघि सारेको छ । यस विषयमा तीनै देशबीच छलफल जारी रहे पनि हालसम्म अन्तिम सहमति जुट्न सकेको छैन । मेक्सिकोका लागि यस समीक्षाको प्रमुख प्राथमिकता अमेरिकामा निर्यात हुने आफ्ना सवारीसाधन, स्टिल र आल्मुनियममा लगाइएका भन्सार शुल्क घटाउनुका साथै समीक्षा अवधिमा थप नयाँ शुल्क लगाउनबाट रोक्नु रहेको राष्ट्रपति शेनबामले बताउनुभएको छ । अमेरिकाले सम्झौतालाई स्वतः विस्तार नगर्ने निर्णय गरेपछि गत जुलाई १ देखि समीक्षा प्रक्रिया सुरु भएको हो। यस प्रक्रियाले उत्तर अमेरिकी क्षेत्रको व्यापार सम्बन्ध, औद्योगिक उत्पादन तथा तीनै देशबीचको आर्थिक सहकार्यको आगामी दिशालाई प्रभाव पार्न सक्नेछ । —

प्रकाशित : २७ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६