ब्रेकिंग न्युज

भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन



राँझा (बाँके), २९ असोज

पछिल्लो केही दिनयता गाँउघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् । नेपालगञ्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका लागि भने यस वर्षको दसैँ खुसी होइन आँसु र पिरलो बोकेर आएको छ । आमाबुवा आराम दमाईं र उजना दमार्इं भोटेकोशीको बाढीमा बेपत्ता भएको आज ५० दिन पुगिसकेको छ । सबैका घरमा आमाबुवाको हातबाट टीका लगाउने र मीठोमसिनो खाने चटारो हुँदा ती तीन कलिला बालबालिका भने आमाबुवा फर्किने आशा र निराशामा दिन बिताइरहेका छन् । “आमाबुवा फर्किएर आउने आशामा बसेको दुई महिना हुन लाग्यो, केही अत्तोपत्तो भएन । दसैँ आयो, आमाबुवा आउनुभएन”, जेठा छोरा सुभास भक्कानिँदै भन्नुभयो्, “बाढीले आमाबुवालाई बेपत्ता बनाएपछि हामी पूरै सहाराविहीन भयौँ । दसैँ आउँदा आमाबुवाको झन धेरै यादले सताइरहेको छ ।” नेपालीको महान् पर्व बडादसैँ घरआँगनमा आइपुगेको छ तर, बाढीमा परी बेपत्ता आराम दमाईं र उजना दमाईं हालसम्म पनि नफर्किदा सहाराविहीन उहाँका छोराछोरीमा निराश छन् । मूल थलो बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगञ्जको मनिकापुरस्थित थपुवामा बसाइँ सरेका आराम दमाईं र उजना दमार्इंका लागि हन्डर र सङ्घर्ष नयाँ कुरा थिएनन् । तर, आफ्ना सन्तानले आफूले जस्तै अभाव र दुःख भोग्न नपरोस् भनेर उनीले एउटा ठूलो र सुन्दर सपना बुनेका थिए, छोराछोरीलाई काठमाडौँमा राखेर राम्रो शिक्षा दिने । नेपालगञ्जमा सोचेजस्तो रोजगारी नपाएपछि यो दम्पती रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्न पुगेको थियो । दिनरात पसिना बगाएर कमाएको रकमले काठमाडौँमा कक्षा ९ मा पढ्ने सुभास, कक्षा ६ मा पढ्ने अश्विन र कक्षा ४ मा पढ्ने सानी बहिनी स्मारिकाको उज्ज्वल भविष्यको जग बसिरहेको थियो । “आमा–बुवाले रसुवाबाट दुःख गरेर पैसा पठाइदिनुहुन्थ्यो, हामी यहाँ ढुक्कले पढ्थ्यौँ”, छोरा सुभासले भन्नुभयो, “अहिले बाढीले दुवैजनालाई बेपत्ता बनाएको छ, हामी सहाराविहीन भयौँ । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।” यो शोक केबल एउटा घरमा मात्र सीमित छैन । उक्त बाढीमा परी थपुवा गाउँका शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय पनि बेपत्ता छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता व्यक्तिहरुको खोजीकार्य र बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि आफूहरुले काम गर्दै आएको जानकारी दिनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, रसुवाबाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म पनि बेपत्ता छन् ।

प्रकाशित : २९ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६