अर्घाखाँची ३० असोजः
सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट रु ३० लाख र खानी रोयल्टीबाट रु एक करोड १७ लाख आम्दानी भएको जनाएको छ ।
नगरपालिकाले सो आवमा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार भूगर्भ सिमेन्ट उद्योगबाट नगरपालिकाले रु ३० लाख १८ हजार स्थानीय विकास शुल्कबापत प्राप्त गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख भएको उक्त रकम सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कका रूपमा प्राप्त वास्तविक आम्दानी भएको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, सोही आर्थिक वर्षमा खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत नगरपालिकाले रु एक करोड १७ लाख ६५ हजार १६० प्राप्त गरेको जनाएको छ । नगरपालिकाले यी दुई रकम फरक–फरक आम्दानी शीर्षकअन्तर्गत पर्ने भएकाले एउटै शीर्षकको आम्दानीका रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ ।
सन्धिखर्क नगरपालिकाको आम्दानी विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा तथा टिप्पणी हुन थालेपछि नगरपालिकाले एक विज्ञप्ति जारी गरी आधिकारिक स्पष्टीकरण दिएको हो ।









प्रतिक्रिया