देश

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना



बागलुङ १३ कात्तिक

आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अग्र्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासमा स्वदेशीमात्र नभई विदेशी पर्यटकसमेत आकर्षित हुन थालेका छन् । पर्यटकीययाम सुरु भएसँगै जिल्लाकै पहिलो घरबासगाउँ बागलुङ नगरपावलिका-१० स्थित भकुण्डेमा पर्यटकको चहलपहल बढेको छ । हालै छ जना विदेशी पर्यटक तीन दिनसम्म घरबासमा बसेर गाउँको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति र खानपानमा रमाउँदै फर्किएका छन् । बेलायत, स्वीटजरल्यान्ड, अस्ट्रेलिया, अमेरिकालगायत देशका पर्यटक घरबासमा आएका सञ्चालक याम थापाले बताउनुभयो । “शुक्रबारदेखि आइतबारसम्म घरबासमा पर्यटकको चहलपहल बढी हुन्छ । पदयात्रामार्फत बागलुङ बजारबाट र जीपमा भकुण्डे पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “भकुण्डे यस्तो घरबास हो, जहाँ विदेशी पर्यटक सोझै आउने गरेका छन् । यसले ओझेलमा परेको गाउँलाई चलायमान बनाउनुका साथै बसाइँसराइ रोक्नसमेत सहयोग गरेको छ ।” विसं २०७३ देखि जिल्लाकै पहिलो घरबासका रूपमा सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरबास स्थानीय कला, संस्कृति, मौलिक परम्परा, आतिथ्य र अग्र्यानिक खानाका कारण परिचित बन्दै गएको छ । पछिल्ला छ वर्षदेखि विदेशी पर्यटकको आगमनले निरन्तरता पाएको सञ्चालकको भनाइ छ । बाजागाजासहित पाहुनाको स्वागत विदेशी पर्यटकको आकर्षण बढ्न थालेपछि घरबासमा नौमती बाजागाजासहित पाहुनाको स्वागत गर्ने गरिएको सञ्चालक थापाले बताउनुभयो । मौसमी फूल, सयपत्री र लालीगुराँसका माला लगाएर पाहुनालाई स्वागत गर्ने परम्परा छ । स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीसँग नजिकबाट परिचित हुन पाइने भएकाले विदेशी पर्यटकको रोजाइमा सामुदायिक घरबास परेको उहाँको भनाइ छ । विदेशी पर्यटकलाई भकुण्डे चिनाउने शर्मा बागलुङको पर्यटन प्रवर्द्धनमा लामो समयदेखि सक्रिय महादेव शर्मा विदेशी पर्यटकलाई भकुण्डे ल्याउन सक्रिय हुनुहुन्छ । विभिन्न माध्यमबाट विदेशी पाहुना भित्र्याउँदै आउनुभएका शर्माले घरबासको अध्ययनसमेत गर्दै आउनुभएको छ । भकुण्डेको गाउँ परिवेश, जीवनशैली, खानपान र स्थानीयको आतिथ्य विदेशी पर्यटकले रुचाउने गरेको उहाँले बताउनुभयो । शर्माका अनुसार उहाँको पहलमा दर्जनभन्दा बढी समूहमा विदेशी पर्यटक भकुण्डे पुगेका छन् । घरबास सञ्चालिका इन्द्रा थापाले पाहुनाको मागअनुसार सेवा तथा सुविधा थप्दै लगिएको बताउनुभयो । पर्यटकलाई सहज बसाइका लागि तातो तथा चिसो पानी, शौचालयलगायत पूर्वाधारलाई व्यवस्थित बनाइएको उहाँको भनाइ छ । सिन्कीदेखि कोदोको सेलको स्वाद घरबासको अर्को मुख्य आकर्षण स्थानीय अग्र्यानिक खानाका परिकार हुन् । हिमशृङ्खलाको दृश्यावलोकन गर्दै स्थानीय उत्पादनबाट तयार पारिएका परिकारको स्वाद लिन पाइने भएकाले पर्यटक रमाउने गरेका छन् । यहाँ स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, कोदोको सेलरोटी, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुका परिकार खुवाउने गरिएको सञ्चालिका थापाले बताउनुभयो । उहाँका अनुसार १५ घरमा सञ्चालन भइरहेको घरबासमा एक रातमा करिब १०० पर्यटक राख्न सक्ने क्षमता छ । मगर संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्य, पर्यटकीय उद्यान, भ्यूटावर, बराह ताल र प्राकृतिक सुन्दरताले भकुण्डे पर्यटकको आकर्षणको केन्द्र बनेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारबाट नजिकै रहेको भकुण्डे भौगोलिक रूपमा समेत रमणीय रहेको उहाँको भनाइ छ । यहाँबाट आँखैअगाडि देखिने हिमशृङ्खला, मगर संस्कृति र सुविधायुक्त बसाइँले पर्यटकलाई आकर्षित गर्दछ । घरबासमा पाहुनाको स्वागत तथा बिदाइ गर्ने शैली पनि फरक र आत्मीय रहेको यहाँ पुग्नुभएका स्वदेशी पर्यटक रमण छन्त्यालले बताउनुभयो । घरबास सञ्चालिका थापाका अनुसार यहाँ अमेरिकासँगै दक्षिण कोरिया, चीन, जर्मनी, क्यानडालगायत देशबाट पर्यटक आउने गरेका छन् । कतिपय पर्यटक हेलिकप्टरमार्फत समेत भकुण्डे पुग्ने गरेका छन् । घरबासमा आउने विदेशी पर्यटक स्थानीय परिकारको स्वाद लिने, पर्यटकीयस्थल घुम्ने, कला संस्कृतिमा रमाउने तथा स्थानीयसँग नाचगान गरेर समय बिताउने गर्छन् । अधिकांश पर्यटक बागलुङ बजारबाट पदयात्रा गर्दै भकुण्डे पुग्ने गरेका छन् । भकुण्डे पुग्ने सडक स्तरोन्नति, खानेपानीको पर्याप्त व्यवस्था र पर्यटकीय पूर्वाधार विस्तारमा ध्यान दिनसके यस क्षेत्रको पर्यटन थप विस्तार हुने स्थानीयको अपेक्षा छ । घरबासको झ्यालबाटै धवलिगिरि, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता हिमाल देख्न सकिन्छ । —

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६