ब्रेकिंग न्युज

स्थानीय तह निर्वाचनको तयारी तीव्रमतदानस्थल र केन्द्र निर्धारणबारे छलफल



डिलाराम भुसाल
कपिलवस्तु, २० कात्तिक

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा निर्वाचनको पूर्वतयारी सुरु गरिएको छ। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुक्रबार जिल्लाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच मतदानस्थल र मतदान केन्द्र निर्धारण तथा व्यवस्थापनका विषयमा छलफल गरिएको छ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको संयोजकत्वमा सम्पन्न बैठकमा निर्वाचनको तयारी, मतदानस्थल तथा मतदान केन्द्रको अवस्था, व्यवस्थापन र आवश्यक सुरक्षा प्रबन्धलगायतका विषयमा छलफल भएको हो।


बैठकमा प्रमुख जिल्ला अधिकारी सुवेदीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला निकायबीच आपसी समन्वय, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको बताउनुभयो। उहाँले मतदानस्थल तथा मतदान केन्द्रको व्यवस्थापनदेखि सुरक्षा प्रबन्धसम्मका विषयमा समयमै आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो। साथै निर्वाचन प्रक्रियालाई सहज र विश्वसनीय बनाउन स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित सबै पक्षको सकारात्मक भूमिका महत्वपूर्ण रहने धारणा राख्नु भएको छ ।
बैठकमा जिल्ला निर्वाचन अधिकारी कमल भुसालले कपिलवस्तु जिल्लामा हाल २३५ मतदानस्थल र ४९० मतदान केन्द्र रहेको जानकारी गराउनुभयो। उहाँका अनुसार जिल्लामा कुल ४ लाख २२ हजार ३७९ जना मतदाता रहेका छन्।
सो अवसरमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ मा उल्लेखित मापदण्ड, प्रक्रिया, काम, कर्तव्य, अधिकार तथा जिम्मेवारीका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। मतदानस्थल तथा केन्द्र निर्धारण गर्दा अपनाउनुपर्ने कानुनी प्रावधान, भौगोलिक अवस्था, मतदातालाई पर्ने सहजता र सम्बन्धित निकायहरूको भूमिकाबारे समेत छलफल गरिएको थियो।
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन मतदानस्थल तथा केन्द्रको अवस्था पहिचान गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
निर्वाचनको पूर्वतयारीलाई समयमै अगाडि बढाउने उद्देश्यले आयोजित बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रकाशित : २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६