काठमाडौँ, ३० कात्तिक
नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ । अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’ बाट सम्मान गरिएको सस्थाले जनाएको छ । बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा कृष्ण हमाल र मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सचेतना विधामा भरत नेपाललाई पुरस्कृत गरिएको छ । नइ एकेडेमी, अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीका अनुसार नेपाली तथा अस्ट्रेलियियन समुदायको विकासमा उल्लेखनीय योगदान पुर्याएवापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ समर्पण गरिएको छ । नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै, सञ्चारमार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएको भन्दै डा भरत पौडेललाई सम्मान गरिएको छ । मानवसेवा अस्ट्रेलियालाई उल्लेखनीय योगदान पुर्याएवापत एक हजार डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ समर्पण गरिएको छ । अस्ट्रेलिया इन्कर्पोरेटेड र पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदानका लागि आचार्य राजन शर्मालाई नइ पुरस्कार प्रदान गरिएको छ । संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मानित भएको छ । पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । त्यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत भएका छन् । सङ्गीततर्फ नेपाली साङ्गीतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ मार्फत चर्चामा आएका उदाउँदा गायक तथा सङ्गीतकर्मी ‘तिखतार’ लाई पनि पुरस्कृत गरिएको छ । नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदानका निम्ति राजकुमार भण्डारीलाई ‘नइ पुरस्कार’ प्रदान गरिएको छ । —









प्रतिक्रिया