नेपालगञ्ज (बाँके), ३० कात्तिक
भारतीय बजारमा निर्भरता घटाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका किसान व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको छ । सोही सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका–१९ का अगुवा किसान गोपी यादवले विभिन्न प्रजातिका खुर्सानीखेती गर्दै स्थानीय बजारको माग पूरा गर्ने प्रयास गरिरहनुभएको छ । कृषक यादवले भन्नुभयो, “हामीले आफ्नै खेतबारीमा मेहनत गरेर खुर्सानी उत्पादन गर्न सके परनिर्भरता घटाउन सकिन्छ । त्यसका लागि किसानले व्यावसायिक खेती र बजारको मागअनुसार उत्पादन बढाउन आवश्यक छ ।” उहाँले उत्पादन गरेको खुर्सानी खरिद गर्न व्यापारी खेतमै पुग्ने गरेका छन् । व्यापारीले खुर्सानी बारीबाटै प्रतिपाउ रु ८० का दरले खरिद गर्दै आएका छन् । त्यही खुर्सानी बजारमा प्रतिपाउ रु १०० सम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । कृषक यादवले भन्नुभयो, “हाम्रो बारीमै व्यापारी खुर्सानी किन्न आउनुहुन्छ । उहाँहरूले प्रतिपाउ ८० रुपैयाँमा खरिद गरेर बजारमा १०० रुपैयाँसम्म बिक्री गर्नुहुन्छ । यसले किसानलाई उत्पादन गर्न उत्साह मिलेको छ । बजार खोज्दै हिँड्नुपर्ने अवस्था पनि छैन ।” उहाँले विगत केही वर्षदेखि १० कठ्ठा जमिनमा खोर्सानीखेती गर्दै आउनुभएकामा यस वर्ष भने केही क्षेत्रफल बढाउनुभएको छ । अन्य बाली र तरकारीभन्दा खुर्सानीको कमाइ राम्रो भएकाले उहाँले जमिनको क्षेत्रफल बढाएको प्रतिक्रिया दिनुभयो । यादवका अनुसार बजारमा विभिन्न प्रजातिका खुर्सानीको माग छ । व्यापारीले एकैपटक तीनदेखि चार प्रकारका खुर्सानीको माग गर्दै आएका हुन्छन् । मागअनुसार सबै प्रजातिका खुर्सानी एकै ठाउँमा उपलब्ध हुन नसके व्यापारी भारतीय बजार रुपैडिहा जाने गरेका छन् । किसानले बजारमा कुन प्रजातिको खुर्सानीको माग छ भन्ने बुझेर खेती गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले खुर्सानीखेतीमा उत्पादन बढाउने मात्र नभई गुणस्तर कायम राख्न पनि ध्यान दिँदै आउनुभएको छ । उहाँका खुर्सानीका बोटमा देखिने ढुसी तथा ब्याक्टेरियाजन्य समस्या पहिचान गर्न परीक्षण गर्नेतर्फ ध्यान दिन आवश्यक छ । “खेती गर्दा उत्पादन मात्रै हेरेर हुँदैन, बालीको स्वास्थ्य र गुणस्तरमा पनि ध्यान दिनुपर्छ । खुर्सानीका बोटमा विभिन्न प्रकारका रोग तथा संक्रमण देखिन सक्छन् । त्यस्ता समस्या समयमै पहिचान गर्न सके बालीमा हुने क्षति कम गर्न सकिन्छ”, कृषक यादवले भन्नुभयो । उहाँका अनुसार, कृषि खेतमा बीउ रोपेर उत्पादन लिने मात्रै होइन । कुन बाली लगाउने, बजारमा केको माग छ, बालीमा कस्तो समस्या देखिएको छ भन्ने कुरा पनि बुझ्नुपर्छ । प्राविधिक ज्ञान लिएर खेती गर्न सके राम्रो उत्पादन र आम्दानी लिन सकिन्छ ।” जाडो मौसम बढेसँगै तराईमा ढोंडे खुर्सानीको माग बढने हुनाले त्यो पक्षलाई मध्यनजर गर्दै कृषक यादवले त्यो जातको खुर्सानी लगाउनुभएको छ । “हामी कहाँ खेतीयोग्य जमिन छ, मेहनत गर्ने किसान पनि छन् । बजारको मागअनुसार उत्पादन गर्न सकियो भने आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिन्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो । स्थानीय बजारको माग पहिचान गरी आफ्नै खेतबारीमा मेहनत, प्राविधिक ज्ञान र बजारको मागलाई ध्यान दिएर खेती गर्न सके स्थानीयस्तरमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्न सकिने उहाँको सुझाव छ । —









प्रतिक्रिया