अन्तर्राष्ट्रिय

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल



इस्लामाबाद, ३ मङ्सिर (रासस/एएनआई) :

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उहाँको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ । उहाँले सेना प्रमुख असीम मुनीरको नेतृत्वमा रहेको पाकिस्तानी सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाको सहारा लिएको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै कासिमले मुनीर नेतृत्वको शासनले तर्क नसुन्ने आरोप लगाउनुभएको छ । आफ्ना बुबाको हत्या हुनुअघि नै विश्व समुदायले कदम चाल्नुपर्ने उहाँको आग्रह छ । यसैबीच, अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले इमरान खान र उहाँकी पत्नी बुशरा बीबीको नजरबन्द, स्वास्थ्य उपचार तथा परिवार र कानुनी प्रतिनिधिसँगको भेटघाटमा लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ । संस्थाका अनुसार इमरान खानलाई सन् २०२५ डिसेम्बरदेखि परिवारसँग भेट्न दिइएको छैन । सन् २०२६ अगस्टमा बहिनीसँग दुई पटक भेट्न पाउनुभए पनि मार्चदेखि छोराहरूसँग टेलिफोनमा कुराकानी गर्न दिइएको छैन । ७४ वर्षीय पूर्वप्रधानमन्त्रीलाई एकान्त कारावासमा राख्दा मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पर्न सक्ने संस्थाको चेतावनी छ । एम्नेस्टीले उहाँको रक्तचापसम्बन्धी गम्भीर समस्याबारे उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश हुँदाहुँदै स्वतन्त्र चिकित्सकबाट उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ । बुशरा बीबीको आँखासम्बन्धी रोगको पर्याप्त उपचार नभए दृष्टि गुम्न सक्ने जोखिम रहेको पनि संस्थाले जनाएको छ । संस्थाले उहाँहरूको हिरासतको अवस्थालाई नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा १० विपरीत रहेको बताएको छ । इमरानका परिवारका सदस्यलाई समेत अधिकारका पक्षमा आवाज उठाएकै कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । एम्नेस्टीका अनुसार पिटिआईको इस्लामाबाद मार्चसँग सम्बन्धित घटनामा इमरानका तीन बहिनीलाई सेप्टेम्बर २० र २१ मा सार्वजनिक व्यवस्था कायम गर्ने ऐन, १९६० अन्तर्गत पक्राउ गरिएको थियो । तीमध्ये दुई जना रिहा भए पनि अलीमा खान लाहोरको कोट लखपत जेलमा अझै थुनामा हुनुहुन्छ । एम्नेस्टीले इमरान खान र बुशरा बीबीलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन, परिवार तथा वकिलसँग नियमित भेटघाटको व्यवस्था गर्न र अलीमा खानलाई तत्काल रिहा गर्न पाकिस्तानी अधिकारीहरूसँग माग गरेको छ । –––

प्रकाशित : ४ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६