देश

शिक्षा र सुशासनमा शिवराजको राष्ट्रिय पहिचान, ‘बेस्ट पालिका अफ द इयर’ सम्मान



पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा नगर प्रमुख अजय थापालाई सम्मान प्रदान

कपिलवस्तु, मंसिर ४

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, स्थानीय सुशासन र सामुदायिक विकासमा गरेको योगदानको कदर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका राष्ट्रिय स्तरमा सम्मानित भएको छ ।

प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (एब्ल्) द्वारा जनकपुरधाममा आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को उद्घाटन समारोहमा शिवराज नगरपालिकालाई ‘बेस्ट पालिका अफ द इयर २०८३’ र लुम्बिनी प्रदेशको ‘सर्वोत्कृष्ट शिक्षा पालिका सम्मान’ प्रदान गरिएको हो ।

सम्मेलनका प्रमुख अतिथि एवं नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगर प्रमुख अजय थापालाई सम्मानपत्र र ट्रफी हस्तान्तरण गर्नुभयो । शैक्षिक उत्कृष्टता, नवीन शैक्षिक कार्यक्रमको कार्यान्वयन तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा नगरपालिकाले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

शिवराज नगरपालिकाले सामुदायिक विद्यालय तथा मदरसा शिक्षाको सुदृढीकरण, निःशुल्क शिक्षाको पहुँच विस्तार, विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थी प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । शिक्षा क्षेत्रको सुधारलाई स्थानीय विकास र सेवा प्रवाहसँग जोड्ने प्रयासले नगरपालिकालाई राष्ट्रिय मञ्चमा पहिचान दिलाएको देखिन्छ ।

स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा शिक्षा, सुशासन र सामुदायिक विकास महत्वपूर्ण आधार हुन् । यस दृष्टिले शिवराज नगरपालिकाले प्राप्त गरेको सम्मान उपलब्धिको पहिचान मात्र नभई आगामी दिनमा शैक्षिक सुधारका प्रयासलाई थप प्रभावकारी बनाउने जिम्मेवारीसमेत हो । सम्मानलाई दिगो उपलब्धिमा रूपान्तरण गर्न विद्यालयको सिकाइ उपलब्धि, विद्यार्थीको नतिजा, शिक्षक व्यवस्थापन, शैक्षिक पहुँच र गुणस्तरीय शिक्षामा सबै समुदायको समान सहभागितालाई निरन्तर प्राथमिकता दिनुपर्ने देखिन्छ ।

‘लेट्स बिल्ड बेटर स्कुल्स टुगेदर’ अर्थात् ‘हाम्रा विद्यालयहरू सँगै मिलेर राम्रो बनाऔँ’ भन्ने नारासहित मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका नीति निर्माताहरूको सहभागिता रहेको छ ।

शिवराज नगरपालिकाले प्राप्त गरेको यो सम्मानले स्थानीय तहमा सार्वजनिक शिक्षाको सुधार, संस्थागत सुशासन र सामुदायिक विकासलाई एकसाथ अघि बढाउन सकिने सन्देश दिएको छ । अब यस उपलब्धिको वास्तविक मापन सम्मानपत्र र ट्रफीमा मात्र नभई विद्यालयको शैक्षिक गुणस्तर र नागरिकले अनुभूत गर्ने सेवा सुधारमा देखिनु आवश्यक छ ।

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६