कपिलवस्तु १० मंसिर
कपिलवस्तुको बाणगंगा नगरपालिका–७, बनगाई निवासी समाजसेवी, इमानदार व्यवसायी तथा सामाजिक व्यक्तित्व प्रताप कुमार गिरीको उपचारका क्रममा असामयिक निधन भएको छ। उहाँको निधनले स्थानीय सामाजिक क्षेत्र, व्यवसायिक जगत् तथा राजनीतिक वृत्तमा अपूरणीय क्षति पुगेको छ।
मल्टिपल माइलोमा रोगबाट पीडित गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीको निरन्तर प्रयासका बाबजुद उहाँलाई बचाउन नसकिएको स्थानिय पुष्प खनालले बताउनु भयो । मल्टिपल माइलोमा रोगसँगै शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि उहाँको निधन भएको हो।
सरल स्वभाव, इमानदार व्यवहार, सामाजिक उत्तरदायित्व र सहयोगी भावनाका कारण गिरी स्थानीय समुदायमा परिचित हुनुहुन्थ्यो। निर्माण व्यवसायमा आबद्ध उहाँले व्यावसायिक मर्यादा र सामाजिक सम्बन्धलाई सँगसँगै अघि बढाउँदै आउनुभएको थियो। व्यक्तिगत स्वार्थभन्दा सामाजिक सम्बन्ध, सहकार्य र मानवीय संवेदनालाई महत्व दिने उहाँको व्यवहारले धेरैको मन जितेको थियो।
नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य समेत रहनुभएका गिरीको निधनले पार्टी संगठनले एक इमानदार र सक्रिय व्यक्तित्व गुमाएको छ। उहाँको सामाजिक योगदान, व्यावसायिक इमानदारी र सरल जीवनशैली स्थानीय समाजका लागि स्मरणीय रहनेछ।
समाजमा पहिचान बनाउन पद वा प्रतिष्ठाभन्दा व्यवहार, इमानदारी र सेवाभाव महत्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका गिरीको निधनले परिवारजन, आफन्त, सहकर्मी, शुभेच्छुक तथा स्थानीयवासीलाई शोकमा डुबाएको छ।
दिवंगत गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। उहाँले समाजमा पु¥याउनुभएको योगदान र छाडेर जानुभएको सद्भावपूर्ण स्मृति सधैँ स्मरणीय रहनेछ। स्व. गिरीका एक श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । स्व. गिरीको अन्तिम दाह संस्कार जिल्लाको धार्मिक स्थल लक्ष्मणघाटमा आजै ३ ः३० बजे गरिने पारिवारिक श्रोतले जनाएको छ। स्व. गिरी २०३० सालको पौष २० गते जन्मनु भएको हो ।









प्रतिक्रिया