कपिलवस्तु १२ मंसिर
बाणगंगा नगरपालिका–७ स्थित जनसेवा कृषि सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेकपा एमाले समर्थित प्यानलले सबै पदमा विजय हासिल गरेको छ।निर्वाचनमा एकातर्फ नेकपा एमालेको समर्थनमा अध्यक्ष पदका उम्मेदवार टोपबहादुर थापाको प्यानल प्रतिस्पर्धामा थियो भने अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस लगायत अन्य विभिन्न दलको समर्थन रहेको संयुक्त प्यानल चुनावी मैदानमा थियो।
आज सम्पन्न निर्वाचनमा कुल ७७२ मत खसेको थियो। मतपरिणामअनुसार एमाले समर्थित टोपबहादुर थापा नेतृत्वको प्यानलका सबै उम्मेदवार विजयी भएका छन्। संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बनेका रास्वपाका जयलाल गिरीसहित सो प्यानलका सबै उम्मेदवार पराजित भएका छन्।निर्वाचित हुने अध्यक्ष थापाले ४४५ मत ल्याएका छन् भने अध्यक्षका पराजित उम्मेदवार गिरीले २९८ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा राम वहादुर बस्नेतले ३९५ मत र सदस्यमा टेकराज खनालले ३८१ मत ल्याएर विजयी भएका छन् । बहुदलीय समर्थनसहित चुनावमा उत्रिएको संयुक्त प्यानलको तुलनामा एमाले समर्थित प्यानलले सबै पदमा जित निकाल्नुले निर्वाचनको परिणामलाई स्थानीयस्तरमा एमालेको पकड अझैपनि मजबुत छ भन्ने स्पष्ट भएको स्थानीय कृष्ण खनालको भनाइ छ।
एउटै प्यानलमा विभिन्न राजनीतिक दलहरू एकजुट भएर प्रतिस्पर्धामा उत्रिए पनि मतदाताले भने एमाले समर्थित प्यानललाई पूर्ण रूपमा समर्थन गरेको देखिएको छ।सहकारीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदाताको यस्तो निर्णयले राजनीतिक दलहरूको स्थानीय प्रभाव, उम्मेदवारप्रतिको विश्वास तथा सहकारीका सदस्यहरूको प्राथमिकताबारे पनि विभिन्न चर्चा सुरु भएको छ। सो वडाका एमालेका इन्चार्ज बिष्णु गिरीले एमालेको गढ सितिमिति भत्काउन अरुलाई गाह्रो हुने वताउनु भयो । नयाँ नेतृत्वले अब संस्थाको व्यवस्थापन, सदस्यको हित तथा सहकारीको आर्थिक र संस्थागत सुदृढीकरणमा काम गर्नुपर्ने चुनौती देखिएको छ।अन्य पदहरुमा यस अघि नै सर्ब सहमत नेतृत्व छनौट भएको भएपनि अध्यक्ष उपाध्यक्षर एक खुला सदस्य पदमा सहमति नहुदा निर्वाचन नै भएको हो ।
१३ मंसिर २०८३, शनिबार









प्रतिक्रिया