खोज–अनुसन्धान

भाउजुलाई भेट्न वोलाएकी सैनामैनाकी एयर होस्टेज सर्जु पोखराको आकाश मै हराइन




बुटवल, २ माघ । सनिवार सांझ फोनमा कुरा गर्दै सिर्जु थापाले भाउजू सरस्वतीलाई भनेकी थिईन, आईतवार बिहान पोखरा जान्छु सांझ भद्रपुर जाने हो उतै बस्छु त्यसैले सोमवार बिहान मात्रै भेट्ने गरी आउनु है।नन्दले सोमवार मात्रै भेटहुन्छ भनेपछि सोही अनुसार रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ५ सेरवाकी सरस्वती थापा आईतबार साँझ काठमाण्डौं जाने तयारीमा थिईन्। नन्द सृजना हुङचुङ (सिर्जु थापा) दशैं मनाएर नियमित कामको लागि काठमाण्डौं गएपछि घरमा आएकी थिईनन्।

मगर समुदायले बिशेष महत्त्वका साथ मनाउने माघी मनाउने तयारीमा रहेको हुङचुङ परिवार पनि काठमाण्डौमा रहेकी सिर्जुलाई सेलरोटी र बटुक लगायतका परिकार बनाएर पठाउने तयारीमा थियो। तर घरकी एक्ली छोरी नै नआउने भएपछि आमा खिमिसराले छोरीलाई मनपर्ने बटुक र सेलरोटी लगायतका परिकार बनाएर बुहारी सरस्वती थापा संग काठमाण्डौ पठाउने तयारी गर्दै थिईन्। सृजनाले सनिवार आमा खिमिसरा र भाउजु सरस्वतीसँग आईतबार पोखराको फ्लाईट रहेको भन्दै मोबाईलमा लामै कुरा गरेकी थिईन्।
माघे संक्रान्तिको परिकार समेत रहेको बटुक सृजनाको मनपर्ने खानेकुरा थियो।२०७२ सालदेखि यती एयरलाइन्समा विमान परिचारिका रहेकी सृजनाले ड्युटीको कारण विदा लिएर घरमा आउन पाएकी थिईनन्। सृजना छिट्टै नै बोईङको परिचारिकाको रुपमा बिदेश जाने तयारीमा थिईन्।आईतबार विहान साढे १० बजे काठमाण्डौंदेखि पोखरा उडान भरेको एटिआर ७२ जहाज आईतबार नै पोखराबाट काठमाण्डौं फर्किएपछि भद्रपुर जाने तालिका थियो। सोहि विमानकी परिचारिका रहेकी सृजना आईतबार काठमाण्डौंबाट पोखरा, पोखराबाट काठमाण्डौं हुँदै फेरी भद्रपुर जानुपर्ने भएपछि भाउजु सरस्वतीलाई सोमबार मात्र काठमाण्डौं आउन भनेकी थिईन्। सनिवार दिउसो आमासँग कुरा गर्दा सृजनाले अलि धेरै बटुक पकाएर भाउजुसँग पठाईदिन भनेकी थिईन्।

रुपन्देहीमा आईतबार विहानै देखि बाक्लो हुस्सु र शितलहरले आकाश ढाकिएको थियो। खिमिसरा भने शितलहरको चिसोलाई वेवास्ता गर्दै छोरीको मनपर्ने खानेकुरा बटुक पकाईरहेकी थिईन्। तर अचानक विहान साढे ११ बजेतिर पोखरामा विमान खसेको खबर सामाजिक सञ्जाल, विभिन्न संचार माध्यम हुँदै खिमिसराले पनि थाहा पाईन्। उनलाई लाग्यो कतै छोरी पनि त्यही जहाजमा त छैन रु उनको मनले भन्यो अव मैले सिर्जुका लागि बटुक पकाउन नपर्ने भयो।सृजनाले सनिवार आमा खिमिसरा र भाउजु सरस्वतीसँग आईतबार पोखराको फ्लाईट रहेको भन्दै मोबाईलमा लामै कुरा गरेकी थिईन्। माघे संक्रान्तिको परिकार समेत रहेको बटुक सृजनाको मनपर्ने खानेकुरा थियो।

सनिवार मोबाईलमा कुरा गर्दा सृजनाले आईतबार विहान काठमाण्डौबाट पोखराको लागि जहाज उड्ने बताएकी थिईन्। खिमिसराको मनमा चिसो पस्यो। सञ्चार माध्यमबाट पोखरामा दुर्घटनाा भएको जहाज यती एयरलाइन्सकै भएको सुनेपछि उनको मन बेचैन भयो। छोरीकै आग्रहमा बन्दै गरेका बटुक र सेलरोटी पाक्न नपाउँदै जहाज दुर्घटनामा परि सृजनाको निधन भएको खबरले अहिले परिवार र सिंगो गाउँ नै स्तब्ध बनेको छ।घरको एक्ली छोरी सृजनाको वियोगमा आमा खिमिसरा विक्षिप्त छन्।

‘हिँजो मात्र मोबाईलमा कुरा गरेकी थिई, ममी भाउजुसँग धेरै बटुक र रोटी पठाईदिनु है भनेकी थिई,’ खिमिसरा सृजनाले भनेका अन्तिम बाक्य सम्झिदै भक्कानो छोडिरहेकी थिईन्। भारतिय सेनाका अवकास प्राप्त बुवा रिम बहादुर र खिमिसराकी एक्ली छोरी सृजनाका दुई दाजु र एकभाई छन्।मामा एकबहादुर गाहाका अनुसार सृजना घरमा मात्र होईन तिनजना बुवाहरुको एक्लो छोरी थिईन्। रिम बहादुरले पाल्पाको बगनासकाली छोडेर छोराछोरीको सुन्दर भविष्यका लागि भन्दै रुपन्देहीको सैनामैनामा बसाइँ सरेका थिए।

प्लस टु सम्मको अध्ययन सैनामैना स्थीत सिद्धार्थ मेमोरियल एकेडेमीबाट गरेकी सृजनाले स्नातक तहको अध्ययन भने बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट गरेकी थिईन्। स्नातक अध्ययन पछि बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेज तालिम लिएकी सृजना यती एयरलाईन्समा २०७२ सालदेखि जागिर शुरु गरेकी थिईन्।सानैदेखि अध्ययनमा अब्बल रहेकी सृजना घर परिवार र आफन्तहरुका बीचमा मिलनसार र सहयोगी भाव राख्ने मामा एकबहादुरले बताए। एयर होस्टेज बनेको सात वर्षमै जहाज दुर्घटनामा परि निधन भएपछि अहिले उनको परिवार, आफन्त र सिंगो गाउँ नै अहिले शोकमग्न बनेको छ।

पोखरामा भएको विमान दुर्घटनामा परि सृजनासँगै चालकदलका चारजना र ६८ जना यात्रुकै मृत्यु भएको खबरपछि सृजनाको घरमा आफन्त र स्थानीय जम्मा थिए। टोल छिमेकका महिला र आफन्तले आमा खिमिसरालाई आफुलाई सम्हाल्न भन्दै सम्झाईरहेका थिए।अकल्पनिय रुपमा छोरीको वियोगको पीडा सहनुपर्दा खिमिसरा भने विलौना गर्दै रोईरहेकी थिईन्। ‘परिवारकै एउटी छोरी हो, मलाई कस्तो भएको छ के थारु भिरबाट हाम फालेर मरौं जस्तो भएको छ।’खिमीसराले भनिन्।

प्रकाशित : २ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६