प्रदेश

प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी



भैरहवा, २५ फागुन । अपराधका घटना न्युनीकरण र नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन नेपाल प्रहरीले सुरु गरेको समुदाय–प्रहरी साझेदारी अभियान रुपन्देहीमा प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो अभियान सञ्चालनमा आएपछि नागरिकसँगको सम्बन्धमा सुधार आएको छ भने अपराधका घटनामा कमी आउन थालेको छ ।   अपराध नियन्त्रणमा समुदायले प्रहरीसँगँको समन्वय र सहकार्य बढाउँदै अघि बढेपछि अभियान सफल भएको प्रहरीको भनाइ छ । अभियान सफल पार्नका लागि जिल्लामा तीन सय ८७ वटा समिति क्रियाशील छन् । जिल्लामा गठित समितिको माध्यमबाट लैंगिक हिंसा, ट्राफिक नियम, लागुऔषध नियन्त्रण, साईबर अपराध, विभिन्न कुरिती तथा विसंगतिविरुद्ध गरी पाँच सय २६ वटा कार्यक्रम संचालन भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले जानकारी दिनुभयो । विद्यालय सम्पर्क कार्यक्रममा छ हजार आठ सय ११ विद्यार्थी र दुई सय १० शिक्षक सहभागी भएको उहाँले बताउनुभयो । 

                    प्रहरी उपरीक्षक थापाका अनुसार यो अभियानका क्रममा ट्राफिक नियम, साइबर अपराध, घरेलु तथा लैंगिक हिंसा, लागुऔषध दुव्र्यसन लगायतका विषयमा सचेतना अभिवृद्धि भएको पाइएको छ ।   टोलटोलमा प्रहरीको पहुँच पुगेकोले प्रहरीप्रति समुदायको विश्वास बढ्दै गएको उहाँले बताउनुभयो । साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा सरोकारवाला निकायसँगको समन्वय र सहकार्य बढेकोले अभियान प्रभावकारी ढंगले अघि बढेको उहाँको दावी छ ।   प्रहरीले थालेको यो अभियानमा प्रदेश सांसद, जिल्लाका १६ स्थानीय तहका जनप्रतिनिधि र समाजसेवीले समेत सहयोग गरेका छन् । प्रहरी र जनताबीच उत्कृष्ट समन्वय र समाजमा प्रहरीको भूमिका अपरिहार्य रुपमा बढोत्तरी गर्न यो  अभियान राम्रो रहेको र यसको सकारात्मक प्रभाव परेको प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बताउनुभयो । ‘समुदाय तथा स्थानीय तहसँग मिलेर प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी कार्यक्रम राम्रो र फलदायी भएको छ, समाजमा हुने घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता घटनामा कमि आएको महशुस गरेका छौँ’–उहाँले भन्नुभयो ।

                  समुदायमा हुने समाजिक अपराधलाई रोक्नका लागि सबैको सहयोग आवश्यक रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । “नागरिकसँगको सम्बन्ध सुमधुर भयो भनेमात्रै अपराधजन्य क्रियाकलाप रोकथाम गर्न सकिन्छ”–उहाँले भन्नुभयो । विशेषगरी प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेकाले कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ । प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संघ÷संस्था र विद्यालयसँगको साझेदारीमा यो अभियान चलाएको हो ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६