अर्थ-वाणिज्य

विदेशमा युवा पलायन जसरी पनि अन्त्य गर्छौं : मुख्यमन्त्री पोखरेल



भैरहवा, २८ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पैसा कमाउन नेपाली युवाहरु विदेश नै जानुपर्ने युवा पलायनको बाध्यतालाई अन्त्य गर्नेतर्फ प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको बताउनु भएको छ । मुख्यमन्त्रीले नेपालमै रोजगारीका प्रशस्त संभावना छ भन्दै आफ्नो देशमा पाएको काम नगर्ने तर विदेश जानुपर्ने नेपालीहरुको मानसिकता नै वनिसकेको बताउनु भयो । 

        प्रदेश ५ सामाजिक विकास मन्त्रालयको आयोजना तथा जिल्ला युवा समिति रुपन्देहीको समन्वयमा बुधबार भैरहवामा भएको मुख्यमन्त्रीसंग युवा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो– भारतबाट मानिस आएर नेपालमा काम गरिरहेका छन तर नेपालीहरु बेरोजगार भएको गुनासो गर्छन, हामी नेपालीमा विदेश नै जानुपर्ने मानसिकता गडेर बसेको छ । मुख्यमन्त्री पोखरेलले आशावादी भए भविष्य उज्यालो हुने र निराशावादी भए भविष्य अन्धकार हुने भएकोले युवाहरुलाई भविष्यप्रति आशाबादी हुन आग्रह गर्नुभयो । 

        जुन हिसाबले समाज बदल्नुपर्ने त्यो अनुसार बदल्न नसकिएको बताउँदै उहाँले सबैकुरा एकै पटक नहुने भएकोले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो । आफ्नो देशमा पाएको काम नगर्ने तर अन्यत्र गएर त्यही काम गर्ने समाजको मनोविज्ञान छ, यहाँ भएका कामहरु विदेशबाट आएर युवाहरुले गरेका छन्, त्यसैले मनोविज्ञानमा बदलाव जरुरी छ, उहाँले भन्नुभयो ।  

        आम्दानी गर्ने भन्दा पनि देखाउने कामलाई बढी महत्व दिदा यस्तो परिस्थिति उत्पन्न भएको मुख्यमन्त्री पोखरेलले बताउनु भयो । मुख्यमन्त्रीले आफ्नो परिवारमै बसेर गर्न सकिने असंख्य काम भएको र मुलुकभित्र थुप्रै काम भए पनि त्यो काम नगरिदा बेरोजगारी देखिएको उल्लेख गर्नुभयो । प्रदेश ५ सिमेन्ट उद्योगको हब बन्दै गएको र ती उद्योगमा काम गर्ने अधिकाशं भारतीय नागरिक नै रहेको भन्दै उहाँले कृषिमा बदलाव नगरेसम्म नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिने स्पष्ट गर्नुभयो । संघीयता आइसकेपछि करका दर बढे भन्ने कुरा प्रदेश ५ को हिसाबले सत्य नभएको मुख्यमन्त्रीको दावी छ । प्रदेश सरकारले युवाहरुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेतर्फ अगाडी बढेको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका युवाहरुलाई रचनात्मक काममा लैजान प्रदेश सरकारले ठोस कार्यक्रम अगाडी बढाउने जानकारी दिनुभयो । 

        उहाँले युवाका सपना र आवश्यकतालाई सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको पनि जानकारी दिनुभयो । युवालाई अगाडी बढाउने दायित्व प्रदेश सरकारको रहेको उहाँको भनाई थियो । जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष बसन्त ढकालले युवाहरुलाई विदेशिनबाट रोक्नुपर्ने बताउनु भयो । उहाँले युवाहरुलाई उद्यमशील कसरी बनाउने भन्नेतर्फ सरकारको कार्यक्रम अगाडी बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा सहभागि विभिन्न संघ–संस्था तथा क्लबमा आबद्ध युवाहरुले प्रदेश युवा परिषद गठन गर्नुपर्ने, युवाहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने, लैंगिकमैत्री वातावरण हुनुपर्ने, संघ–संस्थाहरु स्थानीय तहमै दर्ता र नविकरण हुनुपर्ने, युवाहरुलाई रोजगार दिनेतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्ने, उद्योगहरुमा स्थानीय युवाहरुलाई नै रोजगारी दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६