काठमाडौं, २९ फागुन । नेपाल सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूका भिसा रोक्ने निर्णय गरेको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वका संक्रमित देशहरूबाट समेत भिसा रोक्ने निर्णय गरेको हो । बैठकले तत्काल विद्यालय र परीक्षा स्थगित नगर्ने निर्णय पनि गरेको छ । बैठकले संक्रमण भइहालेको अवस्थामा तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारका प्रवक्तासमेत अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरूको नाम संकलन भइरहेको बताउनुभयो । त्यसैगरी, उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको सुरक्षाका उपकरणको आपूर्ति गर्न पनि समितिले निर्देशन दिएको छ । आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाबाट स्वास्थ्यकर्मीलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । सरकारले सार्वजनिक समारोह, राजनीतिक भेला निरुत्साहित गर्न पनि आग्रह गरेको छ। यसैगरी विवाह, भोजभतेर र बढी मान्छेहरू जम्मा हुने कामहरु नगर्न र सतर्कता अपनाउन सरकारले आग्रह विशेष आग्रह गरेको छ ।
प्रतिक्रिया