अर्थ-वाणिज्य

त्रिलोत्तमाले रोक्यो भारतीय तरकारी प्रयोग,कोरोना संक्रमण फैलन नदिन रोक



बुटवल २१ चैत  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरबासीलाई आग्रह गरेको छ । हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरिद, बिक्री–वितरण तथा उपभोग नगर्नु /नगराउनु हुन नगरपालिकाले अनुरोध गरेको छ । 

        नगरपालिकाले हालको विषय परिस्थितिमा स्वदेशमैं उत्पादित तरकारी, फलफूललगायतका कृषिउपज प्रयोग गर्न नगरबासीलाई भनेको छ । स्वदेशमैं उत्पादित कृषिउपज भीडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, बिक्री–वितरण गर्नु नगरपालिकाले सबैलाई सूचित गरेको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद तथा बिक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ । 

        यस्तै दुधको खरिद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ । नगरवासीले स्थानीय स्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरबासीमा अनुरोध गरेको सूचनामा उल्लेख छ । त्यसैगरी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको विशेष राहत कोषमा रकम जम्मा गर्ने अभियान तीव्र बनेको छ । 

    शुक्रवार उक्त राहत कोषमा विभिन्न व्यवसायीहरुले रकम जम्मा गरेको नगरपालिकाले जनाएको छ । तिलोत्तमा चेम्बर अफ कमर्शको आह्वानमा तिलोत्तमा ५ का व्यवसायी ग्रिसमणि आचार्यले ५१ हजार रुपियाँ राहत कोषमा प्रदान गरेका छन् । उनले करिव ८ लाख सटरभाडा समेत मिनाहा गर्ने घोषणा गरेको तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलले जानकारी दिनुभयो । 

        त्यस्तै तिलोत्तमा ५ कै शोभाकर तिमिल्सेनाले १० हजार १५० रुपियाँ तिलोत्तमा राहत कोषमा प्रदान गर्नुका साथै ६५ हजार घरभाडा मिनाहा गरेका छन् । त्यस्तै तिलोत्तमा ५ कै प्रेम लाम्गादेले ५ हजार रुपियाँ राहत कोषमा प्रदान गरेका छन् । तीनैजनाले आज नगरप्रमुख वासुदेव घिमिरेलाई रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा नगरप्रमुख घिमिरेले राहत कोषमा रकम थपिंदै गएको बताउँदै यसले विपन्न वर्गलाई ठूलो सहयोग मिल्ने बताउनुभयो ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६