अर्थ-वाणिज्य

इँटा उद्योगका तीन हजार भारतीय मजदुरको घर फर्कने चाहना



भद्रपुर, ३ वैशाख । झापाको इँटा उद्योगमा काम गरिरहेका तीन हजार भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।  इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष गुणराज थापाका अनुसार भारतको विहार र पश्चिम बङ्गालबाट गत असोजमा आएका भारतीय मजदुर चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए । लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् । काम लगाउने उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ । झापामा २७ इँटा उद्योग सञ्चालनमा रहेकामा करिब १२ उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । पानी पर्न शुरु गरेसँगै इँटा बनाउने काम रोकिएको छ । 

        कतिपय भारतीय मजदुर परिवारसहित छन् । तिनका बालबच्चासमेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरु आफैँ खाना पकाएर खान्छन् । उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पु¥याइदिने गरेका छन् । “उनीहरुलाई घर पठाउने परिस्थिति नभएकाले हामीले नै खाने बस्ने सहज व्यवस्था मिलाएका छौँ”, सङ्घका अध्यक्ष थापाले भन्नुभयो, “उद्योग परिसरबाट उनीहरुलाई बाहिर जान दिएका छैनौँ र बाहिरका मान्छेलाई भित्र पस्न रोक लगाएका छौँ ।”

         बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नं ८ का वडाध्यक्षसमेत रहनुभएका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताउनुभयो । उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उहाँको भनाइ छ । उनीहरुलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उहाँले  इँटाभट्टामा काम गर्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिनुभयो ।  “हामीले खाने र बस्ने व्यवस्था गरे पनि उनीहरु खुशी छैनन्”, उहाँले भन्नुभयो, “आफू सुरक्षित रहे पनि घरमा रहेका परिवार रोइरहेको अवस्था छ भन्दै बिलौना गर्छन् । कसरी सुरक्षितरूपमा उनीहरुलाई घर फर्काउने हो भन्नेबारेमा उद्योगीबीच छलफल भइरहेको छ ।” नेपाल इँटा उद्योग सङ्घका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका इँटा उद्योगमा रहेका भारतीय मजदुरलाई तन, मन र धनले सहयोग गरिरहेको बताउनुभयो । (रासस)

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६