कोशी

तरकारी आयातमा रोक, रातको समयमा नाका सिल



पाचँथर ८ बैशाख । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो । प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो । झापासहित पूर्वी तराईका जिल्लाबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको न्यौपानेले बताउनुभयो । यस्तै जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन रातको समयमा जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । रातको ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्लाका नाकाहरु राँके, काबेली, छ नम्बर बुधबारे र माझीटार सिल गर्ने उक्त बैठकले निर्णय गरेको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । नाकाहरुमा दिउँसोको समयमा समेत उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ । 

३१ जना क्वारेन्टाइनमा

पाँचथरमा अहिले ३१ जना क्वारेन्टाइनमा रहेका छन् । चैत महिना लागेयता जिल्ला बाहिरबाट आएका व्यक्तिलाई समेत अहिले क्वारेन्टाइनमा राखिएको हो । विगतमा यहाँ १०४ व्यक्ति क्वारेन्टाइनमा दुई हप्ता बिताई घर फर्किसकेका छन् । उनीहरु अधिकांश विदेशबाट फर्केका व्यक्ति तथा तिनको परिवारका सदस्य थिए । विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका थिए । लामो समयपछि समेत कोभिड–१९ लक्षण देखा पर्ने भएपछि जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको हो । 

जिल्लाका आठ स्थानीय तहमा २०४ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् तर अधिकांशको सरकारको पछिल्लो निर्णयानुसारको स्तरोन्नति भने हुन सकेको छैन । अहिले क्वारेन्टाइनमा राखिएका केही व्यक्ति भने चैत लागेयता विदेशबाट फर्केका समेत छन् । लुकीछिपी बसेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएकालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।यस्तै छ जनालाई जिल्लास्थित अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उच्च ज्वरो आएका तथा कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीलाई आइसोलेसनमा राखी स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएको हो । हालसम्म पाँचथरमा १७४ को दु्रत डाइग्नोस्टिक परीक्षण आरडिटी सम्पन्न भएको छ । यस्तै १९ जनाको स्वाब परीक्षणसमेत गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो पटक छ जनाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले बताउनुभयो । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६