अर्थ-वाणिज्य

दुई रोपनी जग्गामा लगाइएको सयपत्री बोटमै ओइलाएर खेर गयो



पाल्पा १२ बैशाख ।   परीक्षणका रूपमा लगाइएको सयपत्री फूलले पहिलो उत्पादनमा नै राम्रो आम्दानी दिएपछि पाल्पा, रामपुर नगरपालिका –४ बस्ने दिलबहादुर थापाले पुष्प व्यवसाय विस्तार गर्नुभयो । बन्दाबन्दीले गर्दा दुई रोपनी जग्गामा लगाइएको सयपत्री बोटमै ओइलाएर खेर गएको छ । लकडाउनले बजारमा बिक्री गर्न नपाउँदा रु तीन लाख भन्दा बढी नोक्सान भएको थापा बताउनुहुन्छ ।थापाले बुटवलमा एक हप्ताको तालीम लिएर एक वर्ष अघिदेखि व्यावसायिक तवरले पुष्प व्यवसाय शुरु गर्नुभएको हो ।  एक रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट रु एक लाख ५० हजार बराबरको आम्दानी भएपछि व्यवसायमा हौसिनुभएका थापा फूल बिक्री गर्ने समयमा लकडाउनले गर्दा ओइलाएर झर्न थालेपछि चिन्तित हुनुहुन्छ । 

             पहिलो पटक यहाँ फूल खेती शुरु भएपछि स्थानीयवासीको फूल खरीद तथा अवलोकनमा आकर्षण बढ्यो । थापा नेपालगञ्ज, बुटवल, पाल्पा सदरमुकाम तानसेन बजारलगायत स्थानमा फूल बिक्री गर्नुहुन्थ्यो । यहाँ उत्पादित फूल प्रतिकिलो रु चार सय र प्रतिमाला रु एक सयमा बिक्री भइरहेको छ ।तानसेन नगरपालिका– ९ स्थित अर्खलेमा माडी माण्डव्य कृषि समूहले करीब १२ रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय र तरकारी खेती गर्दै आइरहेको छ । सयपत्री, मखमली तथा विभिन्न जातका फूल उत्पादन गरी बिक्री गर्ने गरिएको समूहका अध्यक्ष दिनेश बस्याल बताउनुहुन्छ । समूहमा आबद्ध १५  फरक क्षमता भएका व्यक्तिले मात्र व्यवसाय चलाएका छन् ।नर्सरीमा फुलेका फूल बिक्री गर्ने ठाउँ नहँुदा बोटमै ओइलाएर झर्न थालेको अध्यक्ष बस्यालले बताउनुभयो । फूल बिक्री गर्न नपाउँदा रु सात लाख बराबरको नोक्सान हुने अध्यक्ष बस्यालको अनुमान छ । यहाँ उत्पादित फूल सदरमुकाम तानसेन र बुटवल बजारमा खपत हुँदै आएको छ । जिल्लामा पछिल्लो समय फूलमा आकर्षण बढे पनि व्यावसायिक कृषक  अत्यन्तै न्यून रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।थोरै जग्गामा पनि फूल खेती गरेर राम्रो कमाइ गर्ने अवसर भए पनि जिल्लाका अधिकांश कृषकले खाद्यान्न र तरकारी बालीमा जोड दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६