कोशी

संक्रमितमा लक्षण नदेखिँदा समस्या



 विराटनगर १३ वैशाख । कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ । द्रुत परीक्षण विधि आरडीटी र पीसीआर दुवै विधिबाट परीक्षणको दायरा बढाइएको हो ।सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको उच्च संक्रमण देखिएको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा आशंका गरिएका मानिसमा कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘कोरोना संक्रमण देखिए पनि लक्षण नदेखिँदा पहिचानमा कठिनाइ भइरहेको छ,’ मन्त्री घिमिरेले भने, ‘अहिले सम्भावित जोखिमबाट बचाउन ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाएका छौं ।’मन्त्री घिमिरेका अनुसार शुक्रबारसम्म कुल पाँच हजार ६६ जनाको कोरोना परीक्षण गर्ने काम सम्पन्न भएको छ । जम्मा पीसीआर विधिबाट ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ ।

         प्रदेश १ मा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।आरडीटीबाट यो अवधिमा जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् ।यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

दैनिक परीक्षण क्षमता ११२

          प्रदेश १ मा पीसीआरबाट सबैभन्दा बढी दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्न सकिनेछ । बिराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार गरिएका ल्याबबाट दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।सामाजिक विकास मन्त्री घिमिरेका अनुसार कोशी अस्पतालको ल्याबबाट दैनिक १ सय र प्रतिष्ठानको ल्याबबाट दैनिक १२ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । उनका अनुसार यो मुलुककै सबैभन्दा बढी कोरोना परीक्षण गर्ने प्रदेश समेत हो ।धरानमा भएको ल्यावको क्षमता बढाएर त्यसलाई पनि केही दिन भित्रै १२ वटाबाट १ सय क्षमताको बनाउने तयारी भइरहेको छ । धरानको ल्याब पूर्ण क्षमतामा सञ्चालनमा आए प्रदेशमा दैनिक २ सय स्वाब परीक्षण गर्न सकिनेछ ।

प्रतिष्ठानमा छुटै कोरोना विषेश अस्पतालको तयारी

      प्रदेश एकमा कोरोना संक्रमित हुनेको दर उच्च भएपछि तत्काल थप १ सय बेडको कोरोना विषेश अस्पताल बनाउने काम शुरु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई विषेश कोराना अस्पताल बनाउने तयारीका साथ काम अघि बढाइएको हो । प्रतिष्ठानको कोरोना विषेश अस्पताल एक साताभित्र सञ्चालनमा ल्याउने तयारी छ ।प्रतिष्ठानलाई कोरोना विशेष अस्पताल बनाउने गृहकार्य अन्तरगत पहिलो चरणमा एक सय बेड सहितको आइसोलेसन निर्माण थालिएको छ ।कोरोना विषेश अस्पताल जटिल अप्रेसन थिटर र आईसीयूको सुविधा हुनेछ । अस्पताल सञ्चालनमा आएपछि कोरोनाका जस्तासुकै बिरामीको उपचारमा समस्या नहुने प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी बताउँछन् ।

      प्रदेश एकमा कोरोना संक्रमितको आशंका गरिएकाको स्वाब परीक्षणको काम अहिले प्रतिष्ठानको ल्याबबाट हुँदै आएको छ । प्रतिष्ठानको ल्याबबाट हालसम्म २ सय २६ जनाको स्वाब परीक्षण भएको छ । स्वाब परिक्षण गरिएकामध्ये नौ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको उपनिर्देशक डा। विकास शाहले जानकारी दिए ।वीपी प्रतिष्ठान एक नम्बर प्रदेशकै टर्सरी सेन्टर पनि हो । यहाँ गम्भीर तथा घातक रोगका बिरामी पनि उपचारका लागि आउने गर्दछन् ।यता प्रदेश एक सरकारले तयार पारेको बिराटनगरस्थित कोशी अस्पतालमा कोबिड–१९ अस्पताल सञ्चालनमा छ । ५० शैयाको सो अस्पतालमा अहिले २९ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६