कर्णाली

बीउको अभावमा ठिमाह बीउ रोप्दै कृषक



जाजरकोट १५ बैशाख । मौसममा आएको फेरबदलसँगै गहुँबाली भित्र्याएका कृषक अहिले मकै रोप्न व्यस्त भएका छन् । कोरोनाको त्राससँगै ‘लकडाउन’को पालना गर्दै यहाँका कृषकले आफ्नो खेतीपातीको कामलाई गति दिएका हुन् । मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै जाजरकोट र रुकुम पश्चिमका कृषक अहिले मकै रोप्न व्यस्त भएका हुन् । आफ्नो खेतबारीमा गोठेमल राख्नेदेखि गोरुको सहायताले मकै रोप्ने काम शुरु भइसकेको कुशे गाउँपालिका–६ का गोपाल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको त्रासले घर बाहिर नआउने हो भने पशुचौपाय भोकभोकै हुन्छन्, खेतबारी बाँझै हुन्छ रु लक डाउनको पालना गर्दै सबै काम गर्नुको विकल्प छैन ।”

अहिले रोपेको मकै भदौमा पाक्ने गर्छ । सिँचाइ सुविधा नभएको ठाउँमा आकाशे पानीको भरमा लगाइने मकैबाली जाजरकोट र रुकुम पश्चिमको मुख्यबालीको रुपमा रहेको छ । वैशाख महिनामा लगातार पानी परेका कारण मकै रोप्न सजिलो भएको रुकुम पश्चिम आठबिसकोट–९ बटालागाउँका विष्णु बटालाले जानकारी दिनुभयो । सिँचाइ सुविधा हुने ठाउँमा तोरी, गहुँ र मकैसमेत लगाउने काम हुन्छ, नभएको ठाउँमा हिउँदयाममा जग्गाभरि खाली रहन्छ  । वैशाखमा आएर मकै रोप्ने काम हुन्छ बटालाले बताउनुभयो । लगातार पानी परेका कारण गहुँबाली भित्र्याउनसमेत केही समस्या परेको समेत उहाँको भनाइ छ ।

जाजरकोटको नलगाड नगरपालिका, बारकोट गाउँपलिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, जुनिचाँदे गाउँपालिकामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका अहिले कृषक काममा व्यस्त भएका छन् । यीमध्ये जुनिचाँदे, बारेकोट, कुशे गाउँपालिकामा वर्षेनी खाद्यान्न अभाव हुने गर्छ । सिँचाइ सुविधासमेत नभएका यी स्थानीय तहमा आकाशे पानीको भरमा अधिकांश भाग खेती गरिँदै आएको छ ।जाजरकोट र रुकुम पश्चिमका कृषकको मुख्यबालीका रुपमा रहेको मकैबाली रोप्ने मुख्य मौसम पनि यही रहेको छ । यो पटक हिउँदयाममा पानी परेका कारण गहुँबाली सप्रिएपछि खुशी भएका कृषक निर्धारित समयमा मकै रोप्न पाएकामा खुशी भएका छन् । जाजरकोटको ३५ हजार ३२६ हेक्टर जमिन खेतीयोग्य रहेको छ । 

स्थानीय जातकै मकै रोप्ने कृषक  

वर्षेनी यहाँका कृषक ठिमाह मकैको बीउ नै रोप्दै आएको बताएका छन् । उत्पादन वृद्धि गर्नका लागि नयाँ नयाँ जातको बीउ सिफारिस भए पनि यहाँका कृषक वर्षेनी एकै जातको ठिमाह बीउ लगाएर हैरान भएको बताएका छन् ।स्थानीय सरकार र कृषि सेवा कार्यालयले कृषकलाई नयाँ बीउ वितरण नगर्दा ठिमाह बीउ लगाउन बाध्य भएको कृषकको भनाइ छ । कृषि उत्पादन बढाउनका लागि नयाँ नयाँ तालिम र बीउ दिनुपर्ने भए पनि त्यतातर्फ कसैको ध्यान नगएको बारेकोट गाउँपालिका–५ का कृषक प्रेम शाहीले बताउनुभयो । यहाँका अधिकांश स्थानीय तहले सबै बालीका लागि पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेको बताएका छन् । घोषणा गरिएका पकेट क्षेत्रमा नै बीउ नहुँदा कृषक हैरान भएका छन् । 

ठिमाह जातको बीउ रोप्दा वर्षेनी उत्पादन घटेपछि सो उत्पादन बढाउनका लागि उन्नत जातको बीउ वितरण नगर्दा कृषक मर्कामा परेका बताएका छन् । नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यका अनुसार बीउ खरिदका लागि बजेट भए पनि बीउ नपाउँदा समस्या भएको छ । बीउ उत्पादन गर्ने ठाउँमा कोरोना भाइरसका कारण हुन सक्ने खाद्यान्न सङ्कटलाई मध्यनजर गरी बीउ नै खानाका रुपमा प्रयोग भएको आचार्यको भनाइ छ । बीउ किन्नका लागि आफूहरुले तयारी गरे पनि नपाएका कारण कृषकलाई पुरानै बीउ लगाउन अनुरोध गरिएको उहाँले बताउनुभयो । यो वर्ष स्थानीय तहमा नै मूल बीउ उत्पादन गरी अर्को वर्षदेखि बीउ बाहिरबाट खरिद गर्ने काम बन्द गर्नेसमेत उहाँको तर्क छ ।  

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६