मधेश

लकडाउनको पालना भएन : कतै ताला बन्दि ,कतै नाराबाजी



सप्तरी १७ बैशाख । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागी भिडभाड नगर्न भनि सरकारले लकडाउन घोषणा गरेका बेला सप्तरीको कञ्चनरुप नगरपालिका–९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन्  । त्यस्तै  महादेवा गाउँपालिका–४ मा नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् । राहत वितरणमा काखापाखा र अनियमितता भएको भन्दै कञ्चनरुप–९ को वडा कार्यालय र राहत राखिएको कोठामा वडावासीले मङ्गलबार ताला लगाएका हुन् । यस्तै महादेवा गाउँपालिका–४ मा राहत वितरणमा विभेद गरेको भन्दै नाराबाजी गरेपछि राहत वितरण स्थगन भएको हो ।कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी रोक्न गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि गरिब तथा विपन्नलाई राहत वितरण गर्न कञ्चनरुप नगरपालिकाले वडा नं ९ लाई रु पाँच लाख चार हजार रकम पठाएको थियो ।

            सर्वदलीय समितिको बैठकले ५०० घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको छ । सोमबारसम्म वडा नं ९ मा ४७५ घरधुरीलाई राहत वितरण गरिसकेपछि केही घरको नाम छुटेको भन्दै ताला लगाइदिएको वडाध्यक्ष लक्ष्मण यादवले जनाउनुभयो ।छाक टार्न समस्या भएका, अपाङ्गता भएका र विपन्न दलित समुदायले राहत नपाएकाले तालाबन्दी गरिएको स्थानीय भोला यादवले बताउनुभयो । सर्वदलीय समितिको निर्णयबमोजिम राहत वितरण भइरहेको जनाउँदै वडाध्यक्ष यादवले एकै परिवारका सदस्यहरू राहत पाउन अलग–अलग परिवार बनेर राहतको दाबी गर्न थालेकाले राहत पु¥याउन गाह्रो भएको बताउनुभयो ।एउटै परिवारमा रहेका चारसम्मले राहत दाबी गर्दै तालाबन्दी गरेको भन्दै वडाध्यक्ष यादवले पुनः सबै दलका प्रतिनिधि बसेर समस्या समाधान गरिने जनाउनुभयो । कञ्चनरुप नगरपालिकाको सबै वडाले अत्यधिक नामावली पेश गरेपछि कञ्चनरुप नगरपालिकाले राहत वितरणका लागि रु ४३ लाख एक हजार र प्रदेश नं २ सरकारले पठाएको रु १५ लाख जोडेर राहत कोषमा रु ५८ लाख एक हजार रकम छुट्याएको छ ।

                          यसैगरी महदेवा गाउँपालिका–४ बलियास्थित वडा कार्यालयमा भेला भएका स्थानीयवासीले राजनीतिक आस्थाका आधारमा विभेद गरिएको तथा अतिगरिब एवं विपन्न परिवार छुटाएको भन्दै नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् । अतिविपन्नको नाम समावेश हुनुपर्ने र मापदण्डअनुसार राहत वितरण हुनुपर्ने नाराबाजी गर्नेको माग छ । वडाध्ययक्ष जुगेश्वर साहले राहत वितरणमा काखापाखा नगरिएको दाबी गर्नुभयो । कूल एक हजार २०० घरधुरी रहेको वडामा ५८० परिवारको नामावली सङ्कलन गरेर सोहीअनुसार वितरण गर्न लाग्दा केही व्यक्तिले अवरोध पु¥याएको उहाँले बताउनुभयो । छुटेका गरिब, विपन्नलाई पछि राहत दिने प्रतिबद्धता जनाए पनि होहल्ला गरी अशान्ति मच्चाएकाले तत्काल राहत वितरण स्थगन गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६