कोशी

एकै गाउँमा ४० भन्दा बढी बिरामी



सोलुखुम्बु २० बैशाख । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा झाडापखाला तथा कमलपित्त जन्डिस का बिरामी बढेका छन् । पहिलेको सल्यान गाविसको वडा नम्बर १ र ३ का ४० बढीमा यो रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिनुभयो । वडाध्यक्ष बाँस्तोलाका अनुसार एकै परिवारका चार जनासम्म बिरामी परेका छन् । झाडापखाला मात्र नभइ आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट यकिन हुने अध्यक्ष बाँस्तोलाको भनाइ छ । ‘पहिलेको वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ’, अध्यक्ष बाँस्तोलाले भन्नुभयो, ‘हिजोमात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको सङ्ख्या बढिरहेको पाइयो ।’

              एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्याशित रुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो ।जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।यो टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले  नै  बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ ।

                      त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीन वटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ । तीन वटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताउनुभयो । ‘दैनिक रुपमा तीनदेखि चार जनामा जन्डिस देखापरेको छ’, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा  अविषेक सुमनले भन्नुभयो, ‘अहिलेसम्म बिरामीको सङ्ख्या बढेर ४० जनाभन्दा बढी पुगिसकेको छ ।’डा सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहे पनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ । मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामना गरिरहेकोे कोभिड(१९ को जोखिमसँग अन्य रोगसमेत बढ्न सक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा। अविषेक सुमनको भनाइ छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।  

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६