प्रदेश

प्रवेशाज्ञाको म्याद सकिएकै कारण विदेशमा नेपालीले कानुनी जटिलता व्यहोर्नु पर्दैनः परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, ३० बैशाख ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा ९भिसा० को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन समितिको सोमबारको बैठकमा उहाँले विदेशमा कोरोना सङ्क्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि तत्तत् देशलाई आग्रह गरिएकाले उपचारमा समस्या कहीँकतै नदेखिएको बताउनुभयो ।

        मन्त्री ज्ञवालीले भन्नुभयो, “खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली सङ्घ, स्थानीय च्यारेटी सङ्घ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । यद्यपि सबै ठाउँमा सबै ठिक छ भन्ने होइन । प्रवेशाज्ञाको म्याद सकिए पनि कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।”

            कोभिड–१९ का कारण बिस्तारै रोजगारी गुमाउनेको सङ्ख्या बढ्दै गएको बताउँदै उहाँले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत छ भन्नुभयो । कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको सङ्ख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने अनुमान गरिएको सो अवसरमा जानकारी दिइयो । खाडी मुलुकबाट तीन लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या दुई लाख १० हजार ८७१ रहेको मन्त्रालयले जानकारी दियो । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ ।

             स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । अहिले मुलुकमा तयार गरिएका ३५ हजार क्वारेन्टाइनमध्ये २५ हजार भरिएका छन् ।

        एकैसाथ धेरै नेपाली स्वदेश फर्केमा क्वारेन्टाइनकै समस्या हुने अनुमान गरिएको छ । उहाँ भन्नुहुन्छ, “एकैपटक ठूलो सङ्ख्यामा नेपाली फर्कने हो भने तयारी र व्यवस्थापनमा उलटपुलट हुनेछ । यद्यपि आवश्यक तयारी गरेर ल्याइने हुनाले व्यवस्थापन गर्न सरकार सक्षम हुनेछ ।” रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारीमा कसरी जोड्ने भन्ने अर्को चुनौती हो । नेपालको कूल जनसङ्ख्याका १५ प्रतिशत जनसङ्ख्या मुलुकबाहिर छ । कूटनीतिक निकाय र नियोगबाट प्राप्त जानकारीअनुसार विश्वका १०९ मुलुकमा ६४ लाख ६३ हजार ३७३ नेपाली विभिन्न पेशा र व्यवसायमा छन् । विभिन्न २१ मुलुकमा १० हजारभन्दा बढी नेपालीको सङ्ख्या छ । प्रवासमा रहेकामध्ये ठूलो सङ्ख्या श्रमिक छन् ।

        विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १२ लाख ११ हजार ९२४ रहेको छ । वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाले उनीहरुको यकिन तथ्याङ्क नरहेको मन्त्रालयले जनाएको छ । यसअघि बैठकमा सांसदहरूले मुलुकको आर्थिक विकासमा विप्रेषणका माध्यमबाट ठूलो योगदान पु¥याउँदै आएका अहिले अप्ठेरोमा परेर घर फर्कन चाहने नेपालीलाई तुरुन्त स्वदेश फर्काउने व्यवस्था गर्न सुझाव दिनुभएको थियो । (रासस)

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६